काठमाडौं-लिवर्टी इनर्जीले निष्काशन गरेको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेपछि आजदेखि निष्काशन बन्द गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरमा गत शुक्रवार नै मागभन्दा बढी आवदेन परेको थियो।
कम्पनीले भदौ ३ गतेदेखि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। केहि समय अगाडि जलविद्युत कम्पनीले निष्काशन गरेका प्राथमिक शेयर सर्वसाधारणले बिक्री नगर्दा अण्डरराइटरले सकार्नु परेको थियो। तर लिवर्टीमा भने पहिलो तीन दिनमा नै माग भन्दा बढी आवेदन परेको हो।
दोस्रो बजारमा अन्य जलविद्युत कम्पनीको बजार मूल्यले गर्दा प्राथमिक शेयर बिक्री हुन नै गाह्रो परिरहेको छ। कतिपय कम्पनीले आयोजना निर्माण सुरु नगरि आइपिओ निष्काशन गर्दा एक दशकभन्दा लामो समय लाभांसका लागि प्रतिक्षा गर्नु पर्छ। तर लिवर्टीले अबको दुई महिनामै विद्युत उत्पादन सुरु गर्ने र अर्को आर्थिक वर्षमा लाभांस दिने प्रतिवद्धता व्यक्त गरेको छ। यसका लगानीकर्ता पनि शेयर बजार तथा बैंकिङ क्षेत्रका हुन्। यस कम्पनीले अन्य आयोजना निर्माण गर्ने जनाएको छ। २५ मेगावाट क्षमताको आयोजना भएकाले अन्य साना आयोजनाको जस्तो हविगत नहुने विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।