काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनको सामग्री खरिदमा भएको भनिएको भ्रष्टाचारका प्रमाण पेश गर्न उपसमितिले सात दिनको समय दिएको छ।
राष्ट्रिय खेलकुद परिषदबाट परिषद्का सदस्य गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा गठित ५ सदस्सीय ‘१३ औँ साग ब्याडमिन्टन खेल सामग्री खरिद वितरणमा अनियमितता तथा अनियमित रुख कटान सम्बन्धि छानबिन उपसमिति’ को पहिलो बैठकले यस्तो निर्णय गरेको हो।
सागमा ब्याडमिन्टन खेलाडीको जुत्ता खरिदका लागि मात्र २ लाख ७० हजार रुपैयाँ खर्च भएको देखिन्छ। जब कि सागका बेला नयाँ जुत्ता नपाएका खेलाडीहरुले किनिएको भनिएको जुत्ता अहिलेसम्म पनि पाएका छैनन्। अनुदानमा आएको म्याटको बिल बनाएर रकम कुम्ल्याइएको छ। १७ हजार रुपैयाँको र्याकेट किनेको बिल बनाएर ६ हजारको र्याकेट भिडाइएको देखिन्छ।
परिषदबाट प्राप्त कार्यादेश बमोजिम बसेको उपसमितिको बैठकबाट छानबिन कार्यको टिओआर निर्माण, छानबिन कार्यलाई विभिन्न चरणहरुमा बाडेर अगाडि बढ्ने, सदस्यहरुलाई जिम्मेवारी बाँडफाड गर्ने निर्णय भएको उपसमितिले जनाएको छ। साथै, सरोकारवालाले उल्लेखित छानबिन सम्बन्धि कुनै गुनासो, सुझाव, निवेदन लगायत प्रमाण कागजात पेश गर्न सात दिन (यहि भदौ १२ गते सम्म) को समय प्रदान गर्ने निर्णयसमेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।