ढेस्सिएर छटपटाहटको भित्तोमा
तुष्टिको लुतो कन्याएपछि
आफ्नै जिउबाट छरछरी रगत बगेको हेर्दा
आनन्द लाग्छ मलाई।
उपस्थित छ सामुन्ने जो उचाइ
त्यसैलाई होचो देख्ने उत्कण्ठामा
घोप्टो परेर हेर्दा-हेर्दा
थकित-थकित भई आफैं
काखीमुनिबाट बगेको पसिना सुँघेर
असीम आनन्दित हुन्छु।
दिमागमा प्रश्नहरू कुदिरहन्छन्-
यो गुराँस किन बसन्तमा मात्र फुल्छ?
कसलाई खबर पुर्याँउन
मैमाथिबाट उडिगएको हो यो परेवा?
पहेँलपुर फुलेर सयपत्रीले
किन हेपेको हो कालो रङलाई?
यो ज्याकारान्डा फेदतिर नफुलेर
किन टुप्पोतिर मात्र फुल्छ?
बारुद पड्केको समय पनि
किन उत्तिकै प्रेमातुर छन् मलेवा जोडी?
मेरो दिमाग ठेगानमा हुँदैन
जवाफ खोजिरहेको हुन्छु जब-
मौरीले महमा रस नबटुलेर
किन हेप्छ तितेपातीलाई?
थोरै पानी बोकी आकाशतिर कुदेर
बादल किन पक्षपात गर्छ नदीमाथि?
किन फुल्छ कमल यसरी हिलोमाथि?
मलाई-
छटपटी हुन्छ हिमालको उचाइ देखेर
जूनको शीतलताले टाउको पोल्छ
र, फूलको मुस्कानले छाती जल्छ
सबै-सबै देखेर बाह्रैमास
चिटचिटाहट हुन्छ जिउभरि
आवेगमा बजेका दाँतको किटकिटाहट
सुमधुर संगीत लाग्छ मलाई।
मर्निङवाकमा छिमेकी हजुरबा
मसँगै कुद्न नसकेको देख्दा घृणा जाग्छ
मेरो शीरमाथि छाया पारेर
पानीहाँसहरू उड्दा कन्पारो तात्छ
खोलाले मलाई एकछिन नपर्खी
कुदिरहेको देख्दा हतास बन्छु
भन्ज्याङको आहालमाथि
जब आगोको लप्का दौडिँदैन
रिसले आफैँ आगो हुन्छु
आफ्नै जिउ थर्थराइरहन्छु
र, हरपल एक्लै बर्बराइरहन्छु।
हरेक चिजलाई एउटै फ्रेमभित्र राखेर
आफ्नै एकाङ्की चस्माले हेर्छु
मेरो रापिलो अनुहार हेरेर थाहा हुन्छ
आफैं सामू बाँचेको एक सिर्जनशील युग
चल्दा जलन थियो, ढल्दा पनि डाह हुन्छ।
जे हुँ मै हुँ
केही होइनन् अरू भन्ने सोच्दासोच्दै
समयको चम्किलो ऐनामा
आफ्नै प्रतिविम्ब हेर्न बिर्सन्छु
र, आत्म-दर्शनमा भन्दा
छिद्र-दर्शनमा मज्जा लिन्छु
यी हेर्नुहोस्!
एक झोला हिलो बोकेर
एक हातले छर्दै-छर्दै
अर्को हात धारे पारेर आइपुगेको छु
घरदेखि यहाँसम्म
हुन त तपाईंमाथि पनि विश्वास छैन
तै पनि भनिदिनुस् डाक्टर सा'ब!
के म यो समयको एक साइकोप्याथ हुँ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।