काठमाडौं– इटालिन क्लब इन्टर मिलानलाई ३-२ ले हराउँदै स्पेनिस क्लब सेभियाले कीर्तिमानी छैटाैं पटक युरोपा लिगको उपाधि जितेको छ। पहिलो हाफमा नै चार गोल भएको खेलमा दोस्रो हाफको आत्मघाती गोल इन्टर मिलानको हारको कारण बन्यो।
खेलको पाँचौँ मिनेटमा नै पाएको पेनाल्टीमा गोल गर्दै लुकाकुले इन्टर मिलानलाई अग्रता दिलाएका थिए। १२औँ मिनेटमा डि योङको गोलमार्फत सेभियाले बराबरी गरेको थियो। ३३औँ मिनेटमा डि योङकै गोलमा सेभियाले अग्रता बनाउँदा त्यसको तीन मिनेटपछि नै इन्टरका गोडिनले बराबरी गोल गरे।
पहिलो हाफमा दुवै टिम आक्रामक देखिएका थिए। चार गोल भएको पहिलो हाफपछि दोस्रो हाफ थप रोमाञ्चक बन्यो। खेलमा ७४औँ मिनेटमा लुकाकुले आत्मघाती गोल गर्दा उपाधि सेभियातिर गयो।
सेभिया युरोपा लिग फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन। २००६, २००७ मा उपाधि जितेको सेभियाले २०१४, २०१५ र २०१६ मा लगातार तीन उपाधि जितेको थियो।
सेभियाले फाइनलमा २००६ मा मिडल्सबर्गलाई ४–० ले २००७ मा स्पानियोलविरुद्ध २–२ बराबरीपछि टाइब्रेकरमा, २०१४ मा बेनफिकालाई टाइब्रेकरमा, २०१५ मा ड्नीप्रोलाई ३–२ ले साथै २०१७ मा लिभरपुललाई ३–१ ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।