काठमाडौं- सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको मृत्युप्रति शोक प्रकट गर्दै खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
खतिवडाले बाढी पहिरोमा परेर हालसम्म २५० को मृत्यु भएको, ८४ बेपत्ता भएका, १५२ घाइते भएका र ३५१ घर भत्किएको जानकारी दिए। घाइतेको उपचार सरकारले गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताए।
परिवारमा एक जनाको मृत्यु भएमा दुई लाख र परिवारमा एकभन्दा बढीको मृत्यु भएको भए प्रतिमृतक थप एक लाख उपलब्ध गराउने उनले जानकारी दिए।
आवास वा पसलमा क्षति पुगेको भए प्रति परिवार १५ हजार उपलब्ध गराउने निर्णय सरकारको छ। परिवारमा ५ भन्दा बढी रहेको अवस्थामा २० हजार उपलब्ध गराइने छ।
घर पूर्ण क्षति भएको अवस्थामा प्रतिपरिवार एक लाख उपलब्ध गराउने, घाइतेको उपचारको साथै आउजाउका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।