काठमाडौं- इन्टर मिलान च्याम्पियन्स लिगमा माथि बढ्न नसक्दा प्रशिक्षक एन्टोनियो कोन्टेले भनेका थिए- ‘गिलास आधा भरि देखिरहेको छु।’ अहिले उनको टिमले युरोपा लिगको फाइनलमा शुक्रबार राति पौने १ बजे सेभियाविरुद्ध खेल्दैछ।
च्याम्पियन्स लिगमा पाँच पटकको विजेता सेभियाविरुद्ध तीन पटकको विजेता इन्टर मिलानले गएको नौ वर्षमा पहिलो उपाधिको खोजि गर्नेछ। युरोपा लिगको इतिहासमा सफल क्लब सेभियाले जितेमा प्रशिक्षक जुलेन लोपेटेगीका लागि पनि क्लबमा पहिलो उपाधि हुनेछ।
सेभिया युरोपा लिग फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन। २००६, २००७ मा उपाधि जितेको सेभियाले २०१४, २०१५ र २०१६ मा लगातार तीन उपाधि जितेको थियो। यस्तै १९९१, १९९४ र १९९८ मा उपाधि जितेको इन्टर मिलान १९९७ मा फाइनलमा पराजित भएको थियो।
सेभियाले फाइनलमा २००६ मा मिडल्सबर्गलाई ४-० ले २००७ मा स्पानियोलविरुद्ध २-२ बराबरीपछि टाइब्रेकरमा, २०१४ मा बेनफिकालाई टाइब्रेकरमा, २०१५ मा ड्नीप्रोलाई ३-२ ले साथै २०१७ मा लिभरपुललाई ३-१ ले हराएको थियो।
यस्तै इन्टर मिलानले फाइनलमा १९९१ मा रोमालाई २-१ ले, १९९४ मा साल्सबर्गलाई २-० ले, १९९७ मा साल्कसँग टाइब्रेकरमा पराजित साथै १९९८ मा लाजियोलाई ३-० ले हराएको थियो।
यो सिजन च्याम्पियन्स लिग समूह चरणमा बार्सिलोना र बोरुसिया डोर्टमुन्डभन्दा तल तेस्रो स्थानमा रहेको इन्टर मिलानले युरोपा लिगमा भने पाँच खेल नै जितेको छ। सेमिफाइनलमा शख्तर डोनेस्कलाई ५-० ले हराएर बढेको इन्टर बलियो मनोबलमा पनि देखिन्छ।
ला लिगा क्लब सेभिया अहिले २० खेलमा अपराजित रहँदै बढिरहेको छ। जसमा ११ जित र ९ खेल बराबरी गर्दै क्लबकै अहिलेसम्मको राम्रो अवस्थामा देखिन्छ। प्रिमियर लिग क्लब वुल्भ्स र म्यानचेस्टर युनाइटेडलाई हराएर बढेको सेभिया फाइनलमा थप बलियो हुनेछ।
सेभिया प्रशिक्षक जुलेन लोपेटेगीले ४-३-३ को शैलीमा बढाउने टिम अवस्थाअनुसार तुरुन्त ४-५-१ को फर्मेसनमा परिवर्तन भइरहेको देख्न सकिन्छ। ला लिगाका अरु टिम भन्दा फरक रुपमा सेभिया तिब्रतामा बढी विश्वास गर्छ। डिफेन्स लाइनबाट नै आक्रमणको रणनीतिमा बढिरहेको देख्न सकिन्छ।
तपाइँ विजेता टिमलाई चलाउन सक्नुहुन्न भनेजस्तो इन्टर मिलान प्रशिक्षक कोन्टेले पछिल्लो तीन खेलमा एकै सुरुवाती ११ प्रयोग गरिरहेका छन्। कोन्टेले प्रयोग गरिरहेको ३-५-२ को शैलीमा एक होल्डिङ मिडफिल्डर र दुई अट्याकिङ विङ ब्याकको भूमिका बलियो बनिरहेको देखिन्छ।
के भन्छन् प्रशिक्षक?
जुलेन लोपेटेगी, सेभिया
इन्टरको खेलाडीको क्षमता अब्बल छ। प्रशिक्षक पनि राम्रा अनुभवि छन्। यसैले हामीले सबै पक्षमा आफू सकेसम्म राम्रो हुनुपर्नेछ। यो निकै प्रतिस्पर्धात्मक खेल हुनेछ जहाँ हामी आफूले सक्दो सबै प्रयास गर्नेछौँ।
एन्टोेनियो कोन्टे, इन्टर मिलान
हामी जितको इच्छासहित खेल्दै उपाधि इटाली लैजाने योजनामा छौँ। हामी राम्रो टिम हौँ भनेर हामीले देखाउनुपर्नेछ। खेल सकिएपछि हाम्रो मनमा कुनै पनि पश्चाताप नहुने गरी खेल्नुपर्नेछ। यदि हामी राम्रो टिम हौँ भने हामीले जित्नेछौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।