काठमाडौं-एकै पटक तीन वटा कम्पनीको प्राथमिक शेयर निष्काशन हुँदा 'मेरो शेयर' मा समस्या देखिएको छ। समस्याका कारण लगानीकर्ताले एउटै कम्पनीमा आवदेन हाल्न घण्टौं कुर्नु पर्ने भएको छ। लोड धेरै भएपछि सर्भरमा समस्यादेखिएको सिडिएसी एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनले भने 'क्षमताभन्दा तीन गुणा बढी प्रयोगकर्ताले आवेदन दिन खोज्दा यस्तो समस्या आएको हो।' तर आवेदन नै दिन नमिल्ने गरि समस्या भने नआएको उनले बताए। उनले भने, 'बिहीबार रातिमात्रै तीन लाखभन्दा बढी आवदेन परेको छ।'
लगानीकर्ताले आइपिओमा आवेदन दिन खोज्दा लोडिङ देखाउने तथा बिजी देखाउने गरेको छ। 'जुनसुकै बेलामा पनि आवदेन दिन खोज्यो मिल्दैन,' एक आवेदनकर्ताले भने, 'एउटा सानो आवदेनका लागि कयौ पटक प्रयास गरिसकेँ अहिलेसम्म सकेको छैन।'
यस अगाडि सबैभन्दा धेरै अजोड इन्स्योरेन्समा आवदेन पर्दा कुनै पनि समस्या नदेखिएपछि सिडिएससीले खासै वास्ता गरेको थिएन। तर एकाएक समस्या आएपछि प्रावधिक समस्याहरु समाधान भैरहेको सिडिएससीले जनाएको छ।
नियामक निकायले सार्वजनिक शेयर निष्काशन गर्दा आफूसँग भएका स्रोत साधन हेरेरमात्रै अनुमति दिनु पर्ने सिडिएससीको तर्क छ। तामाकोसीकाे शेयर निष्काशन गर्दा समस्या आएपछि सिडिएससीले दुई गुणा बढी क्षमता बढाएको थियो। भोलिका दिनमा क्षमता बढाउन प्रयत्न गरिने न्यौपानले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।