काठमाडौं- सरकारले चैत ११ गतेदेखि बन्द गरेको व्यावसायिक हवाई उडान सुरु गर्ने विषयमा छलफल थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भदौ १६ गतेबाट सुरु गर्ने भनिएको हवाई उडान कसरी र कुन-कुन देशबाट कति गर्ने भन्ने विषयमा अहिले सरोकारकावाला निकायका प्रतिनिधिहरूबीच छलफल भइरहेकाे छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा पर्यटन मन्त्रालयले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान सुरु गर्ने विषयको प्रस्ताव पेस गरेको थियो। मन्त्रालयले सुरुवाती चरणमा कोरोना संक्रमण कम हुँदै गएको देशबाट नेपालीलाई मात्रै सेवा दिने गरी उडान सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो।
उक्त प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री योगेशकुमार भट्टराई, सिसिएमसीका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा युवराज खतिवडालाई छलफल गरेर निर्णय गर्न निर्देशन दिएका थिए।
सोही निर्देशनपछि अहिले उडान खाेल्ने विषयमा मन्त्रालयमा छलफल सुरु भएको हाे। मन्त्रालयले पहिलो चरणमा मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिकलाई मात्रै सेवा दिने गरी नियमित उडान गर्ने विषयको प्रस्तावमा छलफल थालिएको नेपाल नागरिक उड्डयन प्राधिकरण एक उच्च स्रोतले जानकारी दिएको छ।
साथै व्यावसायिक उडान तत्काल थोरै नै गर्ने र यात्रु चार्टर उद्धार उडानलाई पनि जारी राख्ने विषयमा छलफल सुरु भएको मन्त्रालय स्रोतको भनाइ छ।
तर, नेपाल आउने चाहनेले विदेशबाट टिकट जारी गर्दा नै नेपालमा आएर क्वारेन्टाइनमा बस्दा लाग्ने एक साताको शुल्क उतैबाट तिरेको हुनुपर्ने र पिसिआर नेगेटिभ रिपाेर्ट भने अनिवार्य गर्नुपर्ने जनाएको छ। मन्त्रालयले पहिलो चरणमा एक देशमा सातामा एउटा व्यवसायिक उडान खोल्ने तयारीसहित छलफल थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।