काठमाडौं-उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएसीको सोमबारको निर्णय बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उल्टाएको छ।
सोमबारकाे सिसिएमसी बैठकले भदौ १ गतेबाट सुरु गरेको पाँचौ चरणको उद्धार उडान सरोकारवाला निकायसँग छलफल नगरी एक्कासी बन्द गर्ने निर्णय गरेको थियो। जसका कारण सोमबार २ सय ३२ नेपाली लिएर दुबई उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मंगलबार बिहान काठमाडौं अवतरण हुँदा रित्तै थियाे।
मंगलबार नेपाल एयरलाइन्सको जहाजमार्फत् आउन पिसीआर परीक्षण गरी २ सय ६६ नेपाली विमानस्थल पुगेका थिए। तर, सिसिएसीको निर्णयका कारण उनीहरु नेपाल आउन पाएका थिएनन्।
नेपाल एयरलाइन्सको जहाज रित्तै फर्के पनि मंगलबार दिउँसो पौने बजे इस्तानबुलबाट आएको टर्कीस एयरले भने २ सय १ यात्रु लिएर आएको थियो।
नेपाल एयरलाइन्सको जहाजलाई रित्तै फर्काएको विषयको चर्को विरोध भएको थियो। सोलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथामका लागि कसरी प्रभावकारी काम गर्ने भन्ने विषयमा सिसिएमसीमा रहेकाहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए। छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेशकुमार भट्टराई र रक्षामन्त्री ईश्वर पोखरेलबीच उद्धार उडान रद्द गरिएको विषयमा भनाभन नै भएको थियाे।
छलफलका क्रममा मन्त्री भट्टराईले सरोकारवाला निकायसँग छलफल नगरी के कारणले उद्धार उडान रद्द गरिएको हो? किन टर्किस एयरलाइन्सलाई यात्रु ल्याउन दिए पनि नेपाल एयरलाइन्समार्फत् नेपाल आउन लागेका २ सय ६६ जना रोकिए भनेर पाेखरेललाई प्रश्न गरेका थिए।
दुई मन्त्रीबीचको विवाद बढिरहेका बेला बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दैनिक १५ सयसम्म नेपाली उद्धार गर्न सकिने गरी उद्धार उडान सुरु गराउने निर्णय गरेको एक मन्त्रीले नेपाललाइभसँग बताए। निर्णयसँगै शुक्रबार अहिले पर्यटन मन्त्रालयमा उद्धार उडान कसरी गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ।
मन्त्रिपरिषदले गरेको निर्णयका आधारमा नेपाल आउने चाहनेको साथमा ७२ घन्टा ननाघेको पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य चाहिनेछ। साथै नेपाल आउनेले सात दिनसम्म आफ्नै रकम तिरेर क्वारेन्टाइन बस्नु पर्ने निर्णय पनि गरेको छ। होटलको क्वारेन्टाइनका लागि उत्तैबाट रकम तिरेको हुनुपने पर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।