काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्न चाहेको विषय थप चर्चामा आएको छ। नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा उनले आफूले बार्सिलोनामा भविष्य नदेखेको बताएका छन्।
यो सिजन उपाधिविहीन रहेको बार्सिलोना च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकसँग ८–२ ले हारेपछि मेस्सीले क्लब छाड्ने हल्लाहरु चलिरहेका थिए। अहिले नयाँ प्रशिक्षकसँगको भेटमा पनि मेस्सीले क्लब छाड्न चाहेकोतर्फ संकेत गरेको स्पेनिस सञ्चार माध्यमहरुमा खबर छन्।
च्याम्पियन्स लिगको हारपछि बिदामा रहेका मेस्सी बिदा छोट्याएर प्रशिक्षकसँग भेट्न आएका थिए। क्लबमा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सीलाई सहज रुपमा बाहिरिने अवसर भने छैन। ७०० मिलियन युरोको महँगो रिलिज क्लज र कोरोना माहामारीका कारण संकटमा रहेको फुटबल बजारमा उनको बर्हिगमन कठिन देखिन्छ। बार्सिलोना कुनै पनि हालतमा उनलाई रोक्न लागिपरेको छ।
खराब सिजनपछि प्रशिक्षक क्विके सेटियन र टेक्निकल सेक्रेटरी इरिक अबिडाललाई बर्खास्त गरेको बार्सिलोनाले दुई दिन पछि नयाँ प्रशिक्षक नियुक्त गरेको हो। प्रशिक्षक कोम्यानले आफूले मेस्सीलाई केन्द्रमा राखेर नयाँ योजना बनाएको बताइरहेका छन्।
च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकसँग ८–२ ले हारेको बार्सिलोना यो सिजन उपाधिविहीन बनेको रह्यो। ला लिगाको उपाधिसमेत गुमाएको टिमलाई च्याम्पियन्स लिगको लज्जास्पद हारले नयाँ प्रशिक्षक खोज्न बाध्य बनाएको हो। त्यसैले मेस्सी क्लबमा भइरहेका कामसँग अझ विश्वस्त हुन सकेका छैनन्।
यस्तै बार्सा टिभिसँगको अन्तर्वार्तामा बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले पहिलो रोजाइँको टिममा निकै फेरबदल हुने, जसका कारण केही सिनियर खेलाडीले क्लब छाड्नुपर्ने बताएका छन्।
बर्टामेउका अनुसार क्लबमा नै रहिरहने खेलाडीहरुमा कप्तान लियोनल मेस्सी, गोलकिपर मार्क आन्द्रे टेर स्टेगेन, डिफेन्डर नेल्सन सेमेडो र क्लेमेन्ट लेङलेट, मिडफिल्डर फ्रान्की डि योङ, फरवार्ड उसमान डेम्बेले र एन्टोनी ग्रिजम्यान छन्। साथै बी टिमबाट ए टिममा खेलिरहेका अन्सु फाती र रिकी पुइच पनि बिक्रीमा छैनन्।
बर्टामेउका अनुसार टिममा अब जेरार्ड पिके, जोर्डि अल्बा, सर्जियो बुस्केट्स, इभान राकिटिक, स्यामुअल उमटिटी, आर्टुरो भिडाल र लुइस स्वारेज जस्ता खेलाडीहरु हुने छैनन्। कोम्यानले बनाउनले नयाँ टिममा अहिले बर्टामेउले भनेका खेलाडीबाहेक अरुको स्थान नरहेको बताइएको छ।
बार्सिलोना कप्तान लियोनल मेस्सीलाई केन्द्रमा राखेर युवा खेलाडीलाई समेट्दै आफूले योजना बनाएको कोम्यानले बताएका छन्। अब कोम्यानको पहिलो काम मेस्सीलाई क्लबमा नै राखिरहनुमा हुनेछ। बायर्न म्युनिकसँगको लज्जास्पद हारपछि मेस्सीले क्लब छाड्ने हल्लाहरु बढिरहेका छन्।
स्पेनिस फुटबल पत्रकार गिलियम बालागुका अनुसार बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले पनि यहीबीच मेस्सीका बुबासँग कुराकानी गरेका छन्। जसमा मेस्सीसँग नै प्रशिक्षकले कुराकानी गर्नुपर्ने उनको सुझावपछि कोम्यानले मेस्सी भेटेका थिए। तर उनले पहिलो भेटमा मेस्सीलाई विश्वस्त बनाउन सकेका छैनन्।
कोम्यानका लागि नयाँ टिमको विकास गर्न पुराना सबै खेलाडी अहिले अरु क्लबमा पठाउन सक्ने अवस्था छैन। यस्तोमा बार्सिलोनाको कमाइको ७० प्रतिशत हिस्सा खेलाडीको तलबमा खर्च भइरहेको छ। उमेरले नेटो काटिरहेका र बढी तलब लिने त्यस्ता खेलाडीहरु कोरोनाका कारण संकटमा परेको फुटबल बजारमा सहजै बिक्री पनि हुने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।