काठमाडौं– निजी हेलिकोप्टर हवाई सेवा प्रदायक कम्पनीहरुले कोरोना प्रभावित क्षेत्रको उद्धारमा कोरोना नेगेटिभ रिपोर्ट तथा कोरोना नभई अन्य प्रकृतिको बिरामी भएका आधार खोज्न थालेका छन्।
केही दिनअगाडि वीरगञ्जबाट आएका एक जना नेकपा नेताले आफू कोरोना संक्रमित नभएको भन्दै हेलिकोप्टर चार्टर गरेर काठमाडौं आएका थिए। तर, काठमाडौं आएको भोलिपल्ट नै कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरुले प्रभावित क्षेत्रको उडानमा रिपोर्ट माग्न थालेका छन्।
जसका कारण दुई दिनदेखि प्रदेश २ को कोरोना बढी प्रभावित क्षेत्र वीरगञ्जबाट उद्धार उडान नभएको एक हेलिकोप्टर सेवा प्रदायक कम्पनीका सञ्चालकले नेपाललाइभसँग बताए।
‘सरकारी सुरक्षा निर्देशिकाका र वायुसेवा कम्पनीहरु आफैंले बनाएको सुरक्षा निर्देशिकामा कोरोना बिरामी बोक्न नपाइने व्यवस्था छ’, ती सञ्चालकले भने, ‘सुरक्षा मापदण्ड अनुसार नै कोराना प्रभावित क्षेत्रका बिरामी उद्धार तथा चार्टर उडानमा कोरोना परीक्षणमा नेगेटिभ आएको रिपोर्ट माग गर्न थालेका छौं।’
प्रभावित क्षेत्रबाट हुने उडानमा कोरोना नेगेटिभ प्रमाणपत्र मागे पनि मुटु रोगी, दुर्घटनामा परेका तथा सुत्केरी व्यथा लागकाको तत्काल नै उद्धार गर्नुपर्ने अवस्थाको बिरामी भने उद्धार भइरहेको हेली एभरेष्टका सञ्चालक योगेन्द्रराज कँडेलले जानकारी दिए।
कोरोना संक्रमितहरुले समेत झुट बोल्दै काठमाडौं आउनलाई हेलिकोप्टर चार्टर गर्न थाले पनि केही मात्रामा भने सेवा प्रदायकले कडाइ गरेको कँडेल स्वीकार गर्छन्। सबै उद्धार उडानमा रिपोर्ट माग्ने काम भने नभएको उनको भनाइ छ।
तर, एक हेलिकोप्टर व्यवसायी अनुसार बिहीबार र शुक्रबार नै वीरगज्ज लगायत क्षेत्रको उडानमा रोकिएको छ। शुक्रबारका लागि ५ वटा उडानको लागि अनुमति भए पनि हेलिकोप्टर वीरगञ्ज लगायतको क्षेत्रको उद्धारमा गएका छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।