काठमाडौं- शुक्रबारदेखि बैंक खुल्ने भएका छन्। बिहीबार नेपाल प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जाने क्रममा अवरोध गरेपछि कार्यालय नखोल्ने निर्णय गरेको नेपाल बैंकर्स संघले शुक्रबारदेखि पुनः बैंकहरु सञ्चालनमा आउने निर्णय गरेको छ।
संघले बिहीबार बाध्य भएर बैंकहरु खोल्न नसकेको भन्दै क्षमा मागरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते राती १२ बजेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाअनुसार बैंकिङ सुविधालाई अत्यावश्यक सेवाको रुपमा समावेश गर्दै खोल्न पाउने स्पष्ट हुँदाहुँदै रोकिएकाले बिहीबार सेवा प्रवाह गर्न नसकिएको स्पष्ट पारेको छ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बेठकले जारी गरेको आदेशकै व्यवस्थाअनुसार कर्मचारीहरू आफ्नो कार्यालय हिँडेका थिए। तर सरकारको आदेश नभएको भन्दै नेपाल प्रहरीले बाटोमा नै रोकेको थियो।
जिल्ला प्रशासनले निषेधाज्ञा गर्दा पनि बैंक सञ्चालन गर्न आफूहरु तयार रहेको संघले जनाएको छ। अहिलेको असहज परिस्थिमा घरबाटै बैंकिङ सुविधा दिन संघले अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।