काठमाडौं- उपत्यकाभित्र लागू भएको निषेधाज्ञाको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.२८ अंकले बढेको छ। सेयर बजारमा थोरै लगानीकर्ताको पहुँच रहेकाले सेयर बिक्री गर्नेहरू नै कम भएकाले सूचकमा सुधार देखिएको हो।
लगानीकर्ताको पहुच कम भएकैले कारोबार रकममा भारी गिरावट आएको छ। बिहीबार कारोबार रकम ३९ करोड ३१ लाख रुपैयाँमै सीमित भएको छ।
जम्मा १८२ वटा कम्पनीको सेयर कारोबार हुँदा १०१ कम्पनीको मूल्यमा सूधार आएको छ। कारोबार सुरु भएदेखि नै सुधार देखिएको सेयर बजारमा साना कम्पनीले प्रमुख हिस्सा ओगटेको छ।
निषेधाज्ञाका कारण लगानीकर्ताहरु ब्रोकर कार्यालय पुग्न नसके पनि ब्रोकरलाई फोन गरेर तथा अनलाइन माध्यमबाट कारोबार गरेका हुन्। धितोपत्र बोर्डले ब्रोकर कार्यालयका कर्मचारीलाई कार्यालयमा आउन सहजीकरण गरेको थियो।
लगानीकर्ता आउन नसके पनि उनीहरुले फोन गरेर पनि कारोबारको लागि अर्डर दिने गरेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए। पछिल्लो समय ४७ हजार भन्दा धेरैले अनलाइनका लागि युजर नेम र पासवर्ड लिएका छन्।
होटल र म्युचुअल फन्डबाहेक सम्पूर्ण सूचक सुधार भएका छन्। सबैभन्दा धेरै समृद्धि फाइनान्सको मूल्य ९.९२ प्रतिशतले बढेको छ। समग्र सूचक ०.४५ प्रतिशतले बढेर १३९७.५७ अंकमा रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।