काठमाडौं-नेपाल धितोपत्र बोर्डले नियमन गर्ने संस्थाहरु तथा पुँजीबजारको नियमित सेवा प्रदान गर्ने कार्यालयहरुका कम्तिमा दुई कर्मचारीलाई सवारी पास दिन अनुरोध गरेको छ।
बोर्डले नेपाल स्टक एक्सचेन्ज, सिडिएससी, मर्चेन्ट बैंकर्स, धितोपत्र दलाल, रेटिङ एजेन्सी तथा निक्षेप सदस्यहरुलाई नियमित रुपमा सञ्चालन गर्नुपर्ने भएकाले सहजीकरण गरिदिन सम्बन्धित मन्त्रालयहरुलाई अनुरोध गरेको हो।
काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दा शेयर बजार सञ्चालन गर्न गाह्रो भएको हो। हाल दोस्रो तथा प्राथमिक बजारमा अनलाइन प्रणालीबाट कारोबार गर्न मिल्ने भएकाले धितोपत्र बोर्डले ती संस्थाहरु चल्नु पर्ने जिकिर गरेको छ।
यसका लागि अर्थमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, ललितपुर र महानगरीय ट्राफिक कार्यालयलाई पत्राचार गरेको छ। बिहीबार पनि बोर्डले ती संस्थाहरुलाई समन्वय गरेर शेयर बजारसँग समन्धित संस्थाका कर्मचारीलाई आवतजावत गराउने व्यवस्था मिलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।