काठमाडौं- उपत्यकाभित्र स्थानीय प्रशासनले निशेधाज्ञा जारी भएको भन्दै कार्यालय हिँडेका बैंकका कर्मचारी रोकेपछि सम्पूर्ण बैंकहरु बन्द भएका छन्। प्रहरीको हस्तक्षेपपछि आज बैंकहरु बन्द गर्ने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए।
सरकारको अर्को कुनै निर्णय नआएसम्म बैंकहरु सञ्चालन नगरिने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। कार्यालय हिँडेका कर्मचारीलाई कार्यालय जान पनि नदिने तथा घर फर्कन पनि नदिने गरी रोकेर राखेपछि काम गर्ने वातावरण नभएको उनले बताए।
उपत्यकाभित्र बुधबार राति १२ बजेदेखि ७ दिनको लागि निशेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणपछि स्थानीय निकायले अत्यावश्यक सेवाबाहेक सम्पूर्ण कार्यहरु गर्न गराउन रोक लगाउँदै आएका छन्।
बैंक तथा वित्तीय संस्थाहरु पनि अत्यावस्यक अन्तर्गत पर्ने भएकाले नेपाल राष्ट्र बैंकले निश्चित बैंकका शाखाहरु खोल्न निर्देशन दिएको थियो। सुरक्षाका उपायहरु अपनाएर आधारभुत बैंकिङ सेवा प्रदान गर्ने निर्देशन दिए पनि राष्ट्र बैंकले उचित समन्वय नगर्दा बैंकका कर्मचारीहरु बाटोमा नै रोकिनु परेको बैंकरहरु बताउछन्।
बैंकका कर्मचारी हिँडडुल गर्नका लागि नेपाल राष्ट्र बैंकले पहल गरिरहेको छ। तोकिएका निश्चित कर्मचारीहरु निर्बाध रुपमा हिँड्न नपाउन्जेल बैंकिङ सुविधा निरन्तर नगरिने संघले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।