अहिलेसम्म वडा नम्बर २ भित्र कसैलाई पनि कोरोना देखिएको छैन। तर महानगरको अन्यत्र धेरैजसो ठाउँमा कोरोना फैलिसकेको छ। जसले गर्दा हाम्रो वडा कोरोनामुक्त छ भनेर ढुक्क हुने अवस्था छैन। अहिले हामी पनि वडा बासीहरुलाई थप सचेत तथा सजग हुन आग्रह गरिरहेका छौं।
वडाबासीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु देखिन थाल्यो भने वडामा तत्काल सम्पर्क गर्न फोन नम्बर उपलब्ध गराएका छौं। तर अहिलेसम्म कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु देखियो भनेर खबर आएको छैन। यसको मतलब अहिलेसम्म हाम्रो वडाबासीहरुमा त्यस्ता लक्षणहरु पनि देखिएको छैन।
वरपर प्रायः सबैजसो वडाहरुमा कोरोना फैलिसकेकाले हाम्रो वडा कोरोनाबाट मुक्त रहला भन्न सकिन्न। कोरोना समुदायमा जतिबेला पनि फैलन सक्छ। जसले गर्दा हामीले अझ सचेत हुने बेला आएको छ।
हामी सोहीअनुसार छलफल पनि गरिरहेका छौं। अहिले उपत्यकामा कोरोनाको उपचार गरिरहेका अधिकांश अस्पतालहरु पनि भरिइसकेको अवस्था छ।त्यसमाथि कोरोनाका बिरामीहरुको चाप बढ्दै गइरहेको छ। हाम्रो वडामा कसैलाई कोरोना संक्रमण भइहाल्यो भने कहाँ लैजाने? अस्पतालमा ठाउँ छैन। यसमै अब के गर्ने भनेर हामी महानगरका मेयरसँग छलफल गरिरहेका छौं।
वडाबासीहरुलाई पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन तथा भिडभाड नगर्न सुझाइरहेका छौं। अत्यावश्यक काममा घरबाट बाहिर निस्कँदा पनि मास्क तथा पञ्जा प्रयोग गर्न सुझाएका छौं। सामाजिक दूरी कायम राख्न भनिरहेका छौं। कोरोनाको कारण हामीमात्र होइन विश्व नै आक्रान्त बनिरहेको छ।
यसको औषधी नआउँदासम्म हामी ढुक्क भएर सामान्य अवस्थामा फर्किन सक्ने अवस्था छैन। केही समयदेखि लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै केन्द्र सरकारले बुधबार रातिदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा जारी गरिसकेको छ। अत्यावश्यक कामबाहेक घरबाट ननिस्किन सबैलाई आग्रह गरिसकेको छ। सजग रहेर सरकारको नियम पालना गर्नु आफ्नै लागि हो।
(काठमाडौं महानगरपालिका वडा नम्बर २ का अध्यक्ष श्रेष्ठसँग नेपाल लाइभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधरित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।