काठमाडौं-लिवर्टी इनर्जीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले स्थानीयका लागि निष्काशन गरेर बिक्री नभएकोसहित ३५ लाख ६४ हजार ९३० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले पहिलो चरणमा भदौ ७ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए भदौ १७ सम्म बिक्री गर्ने कम्पनीले जनाएको छ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ।
कम्पनीले २५ मेगावाट क्षमताको अपरदोर्दी ‘ए’ सहित अर्को एक मेगावाट क्षमताको सानो आयोजना निर्माण गरेको छ। आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ छ। कुल लागत ४ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
प्राथमिक शेयरधनीले आफूले लगानी गरेको प्राथमिक मूल्य फिर्ता पाउन ८.२० वर्ष कुर्नुपर्नेछ। डिस्काउन्टमा लगानी फिर्ता हुन भने १६ वर्ष लाग्नेछ।
प्राथमिक शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।