काठमाडौं-महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा ९ गुणाले नाफा बढाएको छ। सबैभन्दा नयाँ जीवन बिमा कम्पनी महालक्ष्मीले गत वर्ष ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ८७ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
कम्पनीले आफ्ना हरेक सूचकमा उल्लेख्य सुधार ल्याएको छ। नाफामा मात्रै नभइ खुद बिमा शुल्क आर्जन २४५ प्रतिशतले बढाएको छ।
गत वर्ष यस्तो आर्जन ८६ करोड ८३ लाख रुपैयाँ छ। अघिल्लो वर्ष जम्मा २५ करोड १३ लाख रुपैयाँ थियो। बिमा समितिबाट जीवन बिमा व्यवसायको अन्तिम अनुमति पाएपछि पहिलो पटक गत आर्थिक वर्षभरि जीवन बिमा व्यवसाय गर्ने क्रममा उल्लेख्य उपलब्धी हासिल गरेको हो।
अघिल्लो वर्ष दुई हजार ७७७ वटा बिमा लेख बिक्री गर्न सकेको कम्पनीले गत वर्ष भने १२ हजार ४६३ वटा बिमा लेख बिक्री गरेको छ। यसै अवधिमा कम्पनीले ५ वटा बिमा लेखको मृत्यु दाबी भुक्तानी गरेको छ।
कम्पनीले व्यवसाय विस्तार गर्नुका साथै आफ्नो लगानीको दायरा पनि बढाएको छ। महालक्ष्मीले गत वर्ष दुई अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ। चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ। नाफामा सुधार भएसँगै जगेडा कोषमा ८ करोड २५ लाख रुपैयाँ जम्मा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।