काठमाडौं-नेपाल धितोपत्र बोर्डले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र बजार क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई आफ्ना कर्मचारीको अनिवार्य बिमा गर्न निर्देशन दिएको छ। बोर्डले तीन दिनभित्र ती संस्थाहरुलाई आफ्ना कर्मचारीको बिमा गराउन निर्देशन दिएको हो।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न बोर्डले अनुरोध गरेको छ। यसका लागि संस्थाकै खर्चमा बिमा गराउनु पर्ने र सोको विवरण बोर्डमा पेश गर्नसमेत निर्देशन दिएको छ।
कोरोना संक्रमणका कारण कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने र त्यसरी बिदामा बस्नु परेमा निजलाई सो अवधिको तलब कट्टा नगर्न बोर्डले निर्देशन दिएको छ।
नेपाल धितोपत्र बोर्ड अन्तर्गत ५० वटा ब्रोकर कम्पनी, नेपाल स्टक एक्सचेन्ज, दुई वटा क्रेडिट रेटिङ कम्पनी, सिडिएससी एण्ड क्लियरीङ कर्पोरेसन तथा ३१ वटा मर्चेन्ट बैंक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।