एजेन्सी- कोभिड-१९ को भ्याक्सिन निर्माणका लागि एस्ट्राजेनेका पिएलसी र चीनको सेन्जेन कांग्ताई बायोलोजिकल प्रोडक्ट्स कम्पनीले सम्झौता गरेका छन्। ‘यो वर्षको अन्त्यसम्ममा १० करोड र सन् २०२१ को अन्त्यसम्ममा २० करोड डोज भ्याक्सिन निर्माण गर्न सेन्जेन कांग्ताई सहमत भएको छ’ गत बिहीबार एस्ट्राले विच्याटमार्फत बताएको छ।
कम्पनीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूद्वारा निर्माण भइरहेको भ्याक्सिन निर्माणको कार्यमा पनि सरिक हुन खोजिरहेको उल्लेख गरेको छ।
एस्ट्राले यसअघि नै बेलायत, अमेरिका र यूरोपका लागि ‘एक्सपेरिमेन्टल भ्याक्सिन’का करोडौं डोज आपूर्ति गर्ने विषयमा सम्झौता गरिसकेको छ। बेलायती औषधि निर्माण कम्पनीले भने महामारीको समय भएकाले उचित मूल्य निर्धारण गरेर भ्याक्सिन आपूर्ति गर्ने भनेपनि उक्त मूल्य अहिलेसम्म सार्वजनिक गरिएको छैन।
एस्ट्राले आगामी सेप्टेम्बरसम्ममा ३ करोड भ्याक्सिन बेलायतमा उपलब्ध गराउने उल्लेख गरेको छ।
सेन्जेन कांग्ताई चीनको सबैभन्दा ठूलो भ्याक्सिन निर्माण कम्पनी हो। यस कम्पनीले अहिलेसम्म निमोनिया र मिजेल्सविरूद्धका खोपहरू निर्माण गरिसकेको छ भने यो ‘हेपाटाटिस बी’विरूद्धको खोपको प्रमुख निर्यातकर्ताको रूपमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।