काठमाडौं- दोस्रो बजारमा सूचीकृत अधिकांश कम्पनीको लाभांश क्षमता घटेसँगै आइतबार दोस्रो बजारमा पहिरो गएको छ। बैंक तथा वित्तीय संस्थाको नाफा घट्नुका साथै लाभांश क्षमता पनि घटेपछि आइतबार सेयर बजारमा उच्च गिरावट आएको हो।
आइतबार कारोबार सुरु हुने बित्तिकै ओरालो झर्न थालेको बजार कारोबार अवधिभर रातो देखियो। आइतबार नेप्से सूचक १७.३३ अंकले घटेको छ। सूचक १.२३ प्रतिशतले घटेर १३९१.४६ अंकमा रोकिएको छ।
१८५ वटा कम्पनीको सेयर कारोबार हुँदा १२१ वटाको मूल्य घटेको छ भने ३३ वटाको बढेको छ। केही लघुवित्त र जलविद्युत कम्पनीको सेयर बढेपनि बैंक तथा वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै घटेका छन्। बाणिज्य बैंकहरुको सूचक १.६१ प्रतिशतले घटेको छ। सँगै लघुवित्तको सूचक पनि १.२३ प्रतिशतले घटेको छ। व्यापारको सुचकमा सुधार देखिए पनि बाँकी सूचकमा सामान्य गिरावट देखिन्छ।
धेरै नाफा घटेका बैंकहरुको सेयर मूल्यमा पनि भारी गिरावट आएको छ। सूचक घटे पनि करोबार रकम भने एक अर्ब २३ करोड रुपैयाँको भएको छ। आइतबार नेपाल बैंकको सबैभन्दा धेरै ८ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।
गत आर्थिक वर्षमा कम्पनीहरूको नाफा घटेकाले कम्पनीले विगतका वर्षमा दिँदै आएको प्रतिफल दिन नसक्ने अवस्थामा पुगेका छन्। अर्को तर्फ कोभिडको महामारी अझै कतिसयम रहिरहने भन्ने टुङ्गो छैन। यसले गर्दा पछिल्ला दिनमा सेयर बजार सुधार हुन सकेको छैन। दिनदिनै घटिरहेको सेयर बजारलाई सूचीकृत कम्पनीको वित्तीय विवरणले प्रभाव पार्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।