काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवगठित कार्यदलको बैठक शनिबार १२ बजे बस्ने भएको छ। कार्यदलकै एक सदस्यले दिएको जानकारी अनुसार अहिलेसम्म बैठक बस्ने स्थान भने तय भएको छैन।
कार्यदलका अर्का सदस्यको भनाइ अनुसार बैठक महासचिव विष्णु पौडेलको निवास भैंसेपाटीमा बस्ने सम्भावना बढी छ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बिहीबार र शुक्रबारको छलफलपछि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। नेकपा महासचिव पौडेलको नेतृत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल गठन गरिएको हो। कार्यदलको समयसीमा तोकिएको छैन।
महासचिव पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ। ‘कार्यदलले समस्या के हुन्, समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर छिटो प्रतिवेदन पेश गर्ने छ। त्यो प्रतिवेदनलाई समेत आधार मानेर दुई अध्यक्षले औपचारिक रुपमा पार्टीका बैठकमा प्रस्तुत गर्नु हुने छ। पार्टीका आन्तरिक जीवनमा समस्या समाधान गर्नेगरी अगाडि बढ्ने छौं,' पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।