काठमाडौं- हवाई तथा पर्यटन क्षेत्रमा आवद्ध भएका २१ संस्थाले भदौ १६ बाट पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि संचालन नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै ती संस्थाले पर्यटकीय गतिविधि संचालन नभए धैर्यता टुट्ने भएकाले आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्।
कोभिड अनुकूलता कार्ययोजना बनाई निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्थामा केन्द्रित हुँदै पर्यटकीय गतिविधि संचालन गर्नुपर्ने उनीहरूको माग छ।
पर्यटकीय गतिविधि संचालन गर्न माग गर्नेमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस्, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, नेपाल पर्वतारोहण संघ, होटल एसिएसन अफ नेपाल, साटो, नाफो र नेफालगायत छन्।
सरकारले भदौ १ देखि आन्तरिक तथा बाह्य उडान सेवा संचालन गर्ने तयारी गरेको थियो। तर पछिल्लो समय कोरोना भाइरस संक्रमणका केसहरू बढ्न थालेसँगै उडान तथा पर्यटकीय गतिविधि संचालन गर्ने मिति १५ दिन पछि सारिएको थियो।
सरकारले चैत ११ गते लकडाउन जारी गरेयता व्यवसायिक उडान हुन सकेका छैनन् भने होटलहरू समेत ठप्प छन्।
सरकारले भदौ १६ बाट हवाई तथा पर्यटकीय सेवा खुलाउने बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।