काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाइ वहुमतको सरकारले जनताको विश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको झिनाझम्टीमा कारण 'गाईजात्रा' देखाएको बताएका छन्।
पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा प्रकाशित मुखपत्र 'परिश्रम' त्रैमासिक बुलेटिनको शुक्रबार एक सामारोहका बीच विमोचन गर्दै अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पूर्णरुपमा असफल भएको, जिम्मेवारीबाट च्युत हुँदै गएको बताए। थापाले मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना महामारीका बीचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताए।
सर्वसत्तावाद, भ्रष्टाचार र धर्म परिवर्तन अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रभावहिन देखिएको बताए। देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसँग कुनै नीति, योजना र कार्यक्रम नभएको, सरकार निदाएर बसेको तर अवस्था भयावह बन्दै गएकाे भन्दै थापाले सरकारको आलोचना गरे। यस्तो बेलामा मुलुकमा भरपर्दो र इमान्दार शक्तिको आवश्यकता छ, त्यो पूरा गर्न राप्रपा एकता भएको हो भन्दै थापाले एकता भाड्न चलखेल भइराखेकाे बताए। त्यससलाई चिरेर राप्रपा अघि बढ्ने उनकाे भनाई छ।
राप्रपा विदेशी शक्तिको चाकरी र ईशारामा नचल्ने स्वाभिमानीहरुको राष्ट्रवादी शक्ति भएको समेत उनले स्पष्ट पारे। कोरोना महामारीमा पिल्सिएका जनता, उद्याेगी, व्यावसायी र मजदुरको हितमा काम गर्न सरकार असफल भएको थापाको टिप्पणी थियो।
मजदुरहरुको आवाजलाई बाहिर ल्याउन बुटेटिन प्रकाशित गरिएको संगठनका अध्यक्ष हिक्मतसिंह भण्डारीले बताए। पत्रिकाको सम्पादन कृष्ण खनालले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।