काठमाडौ- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटार भेटवार्ता सुरु भएको छ। शुक्रबारको बालुवाटार छलफलमा ओली र प्रचण्डसहित महासचिव विष्णु पौडेल, प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पार्टीभित्रको विवाद समाधानका लागि ओली र प्रचण्डसहितका नेताहरु बिहीबारदेखि निरन्तर छलफल गर्दै आएका छन्। दुवै अध्यक्षको ९ दिनको संवादहिनतापछि बिहीबारदेखि छलफल सुरु भएको हो।
बिहीबारको छलफलमा पनि ओली र प्रचण्डसहित महासचिव पौडेल, प्रदेश नम्बर पाँचका मुख्यमन्त्री पोखरेल र स्थायी कमिटी सदस्य शर्मा सहभागी थिए। ओलीले बुधबार राति ५ दिनभित्रै सहमति हुने बताएपछि निरन्तर छलफल हुँदै आएको छ।
पार्टीभित्रको विवाद तत्काल महाधिवेशन गरेर निकास निकाल्ने तयारी गरिएको छ। केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाएर तत्काल महाधिवेशनबाट विवाद साम्य पार्ने योजना रहेकाे एक नेताले बताए। तर, महाधिवेशनबाट कसरी नेतृत्वको विषय टुंगो लगाउने विषय सबैभन्दा पेचिलो हुन पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।