काठमाडौं- बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भएको छलफलको सुरुवात फरक किसिमले भयो। छलफलको सुरुवातमै नेकपा महासचिव विष्णु पौडेलले कम्प्युटर खोलेर सहमतिको ड्राफ्ट पढेर सुनाएका थिए।
बिहीबारै साँझ प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने केही सांसद तथा केन्द्रीय सदस्यहरुसँग थापागाउँस्थित एक कलेजमा आयोजित छलफलको क्रममा प्रचण्डले बालुवाटारमा बिहान भएको बैठकबारे ब्रिफिङ गरेका थिए। उनले नै बालुटारमा आफूलाई प्रस्तुत गरिएको सहमतिको ड्राफ्टको विवरण सुनाएका थिए। बालुवाटारको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका अतिरिक्त पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी थिए।
‘महासचिवजीले प्रस्तुत गर्नुभएको ड्राफ्टमा केपीजी पाँचै वर्ष प्रधानमन्त्री रहने र मलाई अझ बढी अधिकारसहितको कार्यकारी अध्यक्ष बनाउने त्यसको मजबुन थियो’, प्रचण्डको भनाई उद्धृत गर्दै भेलामा सहभागी भएका एक नेताले भने।
पौडेलले प्रस्ताव प्रस्तुत गरिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई सहमतिको ड्राफ्ट कस्तो लाग्यो भनेर सोधेका थिए। आफूले साथीहरुसँग छलफल गरेर मात्रै त्यसबारेमा धारणा राख्ने जवाफ दिएका थिए।
प्रचण्डले थापागाउँमा गरेको ब्रिफिङ अनुसार बालुवाटारको छलफलमा महाधिवेशन आयोजक कमिटी बनाउने, महाधिवेशनपछि अध्यक्ष बनाउने लगायतका अन्य विषयमा पनि चर्चा चलेको थियो।
थापागाउँको छलफलमा प्रदेश ५ का २२ जना सांसद तथा केन्द्रीय सदस्य सहभागी थिए। दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म चलेको छलफलमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए। तर प्रचण्ड र नेपालले मात्रै सम्बोधन गरेको एक नेताले बताए।
प्रचण्डले आफूहरुको लडाइँ विधि र पद्धतिका लागि भएको बताएका थिए। ओली पक्षधरले यसलाई पदको लडाइँको रुपमा प्रचार गरिरहेको भन्दै असन्तुष्टि पोखेको एक नेताले बताए।
थापागाउँको छलफलमा नेता नेपालले भने केपी ओली एकलौटी ढंगले चलेको आरोप लगाएका थिए। ‘मलाई महाधिवेशनदेखि पेल्दै आएका छन्। पार्टीमा पनि विधि पद्धति मिच्दै अघि बढेका छन्। पार्टीलाई एकलौटी ढंगले चलाएका छन्। चुनावमा टिकट दिने बेलामा होस् वा साथीहरुलाई जिम्मेवारी दिने बेलामा होस्, उनी एकलौटी ढंगले चल्छन्’, नेपालको भनाई थियो।
उनले अधिकांश समय ओलीको कार्यशैलीको आलोचना गरेका थिए।
प्रचण्ड र नेपालले सांसद तथा केन्द्रीय सदस्यसँग प्रदेश ५ मा पार्टीको अवस्था, विवादको विषयमा जिज्ञासा राखेका थिए।
बैठकमा धारणा राखेका अधिकांश नेताले ओलीलाई कम्तीमा पनि एक स्टेप डाउन गर्नैपर्ने बताएका थिए। यत्तिकै अवस्थामा सहमति गर्ने वा चोचोमोचो मिलाउने हो भने ओलीले फेरि पनि पेल्छन्। त्यसैले उनलाई कुनै पनि हिसाबले एक स्टेप भए पनि डाउन गर्नैपर्ने नेताहरुको धारणा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।