काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केही केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका छन्।
थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा भेला भएका प्रदेश ५ का केन्द्रीय सदस्यहरूलाई अध्यक्ष प्रचण्डले भेटबारे ब्रिफिङ गरेको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
सो भेलामा नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नेताहरू पनि सहभागी भएका थिए। केन्द्रीय सदस्यहरूले पार्टीको विवाद समाधानका लागि सुझावसमेत दिएको बताइएको छ।
प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै केन्द्रीय सदस्यहरूलाई भेट्न अध्यक्ष प्रचण्ड प्रेसिडेन्टल कलेज पुगेका हुन्।
बुधबार सोही कलेजमा प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। यस्तै साउन २१ गते पनि सोही कलेजमा उनीहरुले पत्रकारहरूसँग भेटघाट गरेका थिए।
लामो समयदेखि नेकपा विवाद टुंगोमा पुग्न सकेको छैन। ओली इतर पक्षले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् भने ओलीले भने अध्यक्ष तथा दुवै पदबाट राजीनामा नदिने अडान राख्दै आएका छन्।
यसैबीच बिहीबार नै भएको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको वार्ता सकारात्मक रूपमा अघि बढेको बताइएको छ। बुधबार एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ५ दिनभित्र नेकपा विवाद समाधान हुने ठोकुवा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।