काठमाडौं– नेपाल पर्यटन बोर्डको बजेट झन्डै ५१ प्रतिशतले घटेको छ। पर्यटन बोडले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।
उनका अनुसार बोर्डले कारोनाका कारण आम्दानी घटेको भन्दै बजेट घटाएको हो। बोर्ड गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ६३ करोडको बजेट विनियोजन गरेपनि चालु आवको लागि ८० करोड ७१ लाख रुपैयाँ मात्रै विनियोजन गरेको रेग्मीले जानकारी दिए।
बोर्डको बजेट बोर्ड सञ्चालक बैठकबाट समेत पारित भइसकेको छ। बोर्डले चालु आर्थिक वर्षमा सातवटै प्रदेशकमा शाखा कार्यालय खोल्ने विषयलाई प्राथमिकतामा रोखेको छ। यसैगरी बोर्डले डिजिट मार्केटिङलाई पनि प्रमुख प्राथामिकतामा राखेको रेग्मी बताउँछन्।
डिजिटल मार्केटिङअन्तर्गत नै बोर्डले नेपाल बुकिङ साइट खोल्ने र त्यहीबाट नेपाली पर्यटन व्यवसायीले आफ्नो प्रोफाइल राख्दै प्याकेज बेच्न सक्ने गरी काम गर्ने रेग्मीले जानकारी दिए। यसैगरी बोर्डले ठूला पूर्वाधार निर्माणमा पनि चालु आवमा बजेट विनियोजन गरेको छैन।
बोर्डले श्रम रोजगारी सिर्जन गर्ने गरी देशैभर काम गर्ने योजनासमेत बजेटमा राखेको रेग्मी बताउँछन्। बोर्डले अहिलेसम्म तिब्बतबाट मात्रै आरोहण गर्न सक्ने चोयु हिमाल नेपालबाट समेत आरोहण गर्ने गरी बाटो निर्माण गर्न बजेट विनियोजन गरेको छ।
यसैगरी बोर्ड कार्यालय सञ्चालन खर्चसमेत घटाएको रेग्मीले जानकारी दिएका छन्। कार्यालय सञ्चालन खर्च घटाउनकै लागि २५ जना करारमा रहेका कर्मचारीलाई समेत बोर्डले कामबाट विदाई गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।