काठमाडौं–त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण देखिएको छ।
आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोनालाई भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए। उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक विभाग बुधबार नै सिल गरिएको छ।
यी नर्सिङ स्टाफ र डाक्टरलाई लक्षणसमेत देखिएकाले अन्य स्वास्थ्यकर्मीलाई सर्न सक्ने भन्दै आकस्मिक विभाग सिल गरिएको उनले बताए। उनका अनुसार आकस्मिक विभागका अन्य केही स्वास्थ्यकर्मीलाई समेत ज्वरो आउने लक्षण देखिएको छ।
आकस्मिक विभागमा रहेका करीब एक सय कर्मचारीको बिहीबार पिसीआर परीक्षण गरिने डा. दासले जानकारी दिए। अन्यलाई कोरोना भए नभएको यकिन नभएसम्म आकस्मिक विभाग बन्द रहने जनाइएको छ।
अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेको डा दासले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।