नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन निर्धारित समय फागुनमा नहुने निश्चितप्रायः भएको छ। संगठन समायोजनको काम सकिएको छैन। साउन मसान्तसम्म सक्नुपर्ने क्रियाशील सदस्यता वितरण र नवीकरण निर्धारित समयावधिमा नसकिने भएको छ।
पार्टी भित्रको आन्तरिक किचलो त छँदैछ। कोभिडले महाधिवेशन पर सार्न साथ दिएको छ। विश्वव्यापी महामारीले फागुनमा महाधिवेशन हुन नसक्ने धारणा केन्द्रीय समितिमा बैठकमा नेता अर्जुननरसिंह केसी राखेका थिए। उनको बोलीको त्यसबेला सुनुवाइ भएन। महाधिवेशन तोकिएको मितिमा हुन नसके त्यसको जिम्मेवारी पदाधिकारीले लिनुपर्ने केसी तर्क गर्छन्।
आसन्न महाधिवेशन,पार्टी भित्रको विवाद र भावी उम्मेदवारीमा केन्द्रीत रहेर १३औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी रहेका अर्जुननरसिंह केसीसँग डिबी खड्का र लिलु डुम्रेले गरेको संवाद।
पार्टीमा सभापतिले गरेका निर्णयमा आपत्ति जनाइरहनु भएको छ। तपाईंहरूको विरोध हुँदाहुँदै पनि सभापतिको निर्णय प्रक्रिया रोकिएन। तपाईंहरू विधि/पद्धतिको कुरा उठाइरहनु हुन्छ। यसलाई सभापतिले तपाईंहरूलाई नटेरेको रुपमा बुझ्ने कि?
सभापतिले हामीलाई टेर्नु भयो कि भएन भन्ने प्रश्न भन्दा पनि दुइटा राजाको निंरकुशता, माओवादी हिंसाको नियन्त्रण गरी शान्ति प्रक्रियालाई यो अवस्थासम्म ल्याएको नेपाली कांग्रेसको ऐतिहासिक मूल्य पनि बुझ्नुपर्छ। यत्रो लोकतान्त्रिक र ऐतिहासिक पार्टी लोकतन्त्रको आधारभूत मान्यता, सिद्धान्त, विधिलाई तोड्ने कुरा अलोतान्त्रिक गतिविधि हो।
मनपरीतन्त्रको शैली जसरी अपनाइएको छ। त्यो दुखद् र दुर्भाग्यपूर्ण छ। नेपाली कांग्रेसको विधानमा स्पष्ट रुपमा भनिएको छ, ‘महाधिवेशनको ६ महिनाभित्र विभागहरू गठन हुनुपर्छ।’ महाधिवेशनको ६ महिनाको त कुरै छाडौं। सभापतिको चारवर्षे पूरै कार्यकाल बित्यो। उहाँले विभाग गठन गर्नुभएन। विधानले दिएको थप एक वर्षे कार्यकालको पनि महाधिवेशनको मिति तय भइसकेपछि विभाग गठन गर्ने काम गर्नुभयो।
समय भित्र सभापतिले गठन गर्नसक्नुहुन्थ्यो। किन गर्नुभएन? तर दोष अरुतिर थोपर्ने काम गरिन्छ। सभापतिले कमसेकम आफ्नै विगत सम्झे पनि हुन्थ्यो। सभापतिमा सुशील कोइराला हुँदा अहिलेका सभापति शेरबहादुर देउवाले विभाग गठन गर्दा स्वीकार्नुभएन। सुशील कोइरालाले तीन वर्षमा विभाग गठन गर्नुभएको थियो। देउवाले स्वीकार नगरेपछि विघटन गर्नुपर्ने स्थिति बनेको थियो। त्यो बेला महाधिवेशन घोषणा पनि भइसकेको थिएन।
महाधिवेशन घोषणा भइसकेपछि सिद्धान्त र नीतिको बहस एक पक्ष हो। महाधिवेशनले नेतृत्वको चयन गर्ने मूल पक्ष हो। नेतृत्वको चयन प्रक्रियालाई प्रभावित गर्ने गरी कार्य हुनुहुँदैन। निर्वाचन घोषणा भइसकेपछि मनपरी नियुक्ति, सरुवा, बढुवा सरकारले गर्न पाउँदैन। सरकारले त्यस्तो गर्यो भने हामी विरोध गर्छौ भने पार्टीमा पनि विधि त लागु हुनपर्यो नि। लोकतान्त्रिक पद्धतिको सर्वमान्य सिद्धान्त भनेकै प्रतिस्पर्धामा जाने परिस्थिति निर्माण भएपछि आन्तरिक संरचना निर्माण गर्न मिल्दैन। नियुक्ति गर्ने कार्य आचार संहिताको उल्लंघन हो। लोकतान्त्रिक पद्धतिविरोधि कार्य हो।
विभाग गठन मूल्य मान्यता विपरीत त छँदैछ। सभापतिले नै स्थापति गरेको परम्परा विपरीत पनि छ। विभाग २८ बाट ४७ पुर्याउनुभएको छ। २८ वटा विभाग गठन गर्न महासमितिकै समयमा मैल गठन गर्न भनेको थिएँ। हामीले विरोध गरेपनि २८ विभाग गठन गर्न सभापतिको क्षेत्राधिकारै हो। समयमा विधान अनुसारको विभाग गठन नगर्ने अनि संख्या बढाउने कार्य भयो। विधान अनुसार २८ विभागमा मनोनयन गर्ने सभापतिको अधिकार खोस्न हामीले खोजेका हैनौं। तर, महाधिवेशन निर्णय भइसकेपछि त्यो पनि दोहोर्याएर कार्यतालिका सार्वजनिक भएको छ। सभापतिको निर्णय सर्वथा अनुचित छ। औचित्यहीन, लोकतान्त्रिक मान्यता, परम्परालाई चुनौती दिएर सभापतिले कांग्रेसको विधानलाई हास्यास्पद बनाउन खोज्नुभएको छ।
सभापतिले जतिलाई विभागमा ठाउँ दिनुभएको छ, नेपाली कांग्रेसकै साथीहरू हुनुहुन्छ। साथीहरू समावेश हुँदा हामीलाई आपत्तिको विषय भएन। मनपरीतन्त्रको विरोध गर्ने पनि साथीहरू त्यहाँभित्र हुनुहोला। सभापतिले गठन गर्ने विभागमा हामी सहभागी पनि हुँदैनौं। सहभागी नहुन साथीहरूलाई आह्वान पनि गर्छौं। पार्टीलाई जसरी पनि कब्जा गर्ने मनशायको विरुद्धमा लागिरहन्छौं। यो विषयलाई दृढतापूर्वक महाधिवेशनसम्म पुर्याउँछौं। जुन रुपले प्रतिवाद गर्नुपर्छ, त्यसको तयारी हामीले गर्छौं। हामी चुप लाएर बस्दैनौं।
विधान विपरीत सभापतिले निर्णय गरेको भनिरहनुभएको छ। सभापतिले तपाईंहरूको आवाजलाई बेवास्ता गर्दै आउनुभएको छ। विवादमा सहमति खोज्न केही विकल्प छ कि अन्त्यमा तपाईंहरूले स्वीकार्ने नै हो?
सार्वजनिक रुपमै हामीले भनिरहेका छौं। हामीले स्वीकार्दैनौं। वरिष्ठ नेता, महामन्त्री, कोषाध्यक्षले सभापतिको ध्यानाकर्षण पनि गराइसक्नुभएको छ। सभापतिको निर्णय स्वीकार्ने भन्ने नै हुँदैन।
विधान विपरीत गठन भएका विभागमा हामी सहभागी पनि हुन्नौं। हाम्रा साथीहरूलाई नबस्नुस पनि भन्छौं। आन्तरिक लोकतन्त्रका लागि पनि त्यहाँ बस्ने साथीहरूलाई भन्छौं, ‘हामीलाई साथ दिनुस्। हामीले यो विषयलाई महाधिवेशनसम्म लान्छौं।’ के कस्ता गतिविधि गर्ने हामीले सोच्दैछौं।
तपाईंहरू विरोध पनि गर्नुहुन्छ। तर, पदीय भागबण्डामा लाग्नुहुन्छ भन्ने आरोप पनि छ। भ्रातृ संस्थाको ६ महिन कार्यकाल बढाइयो। विरोध गर्नुभयो। तर, आफ्ना पक्षका पदाधिकारीलाई फिर्ता गर्न सक्नुभएन। किन?
उठेको प्रश्न जायज हो। नेपाल विद्यार्थी संघमा विधानमै नभएको व्यवस्थामा हाम्रा साथीहरूले सम्झौता गर्नुभयो। विधिविधान विपरीत कुनै पनि सम्झौता गर्नुहुन्न मैले जहिले पनि भन्दै आएको छु।
अहिलेको संस्थापन र हाम्रो मौलिक मतभेद भनेकै विधि, संस्थागत, पारदर्शीबाट पार्टी चल्नुपर्ने भन्ने हो। भागबण्डाका लागि विधि मिच्न पाईदैन। सबैले सहमति गर्न सक्यौं भने हामीले विधिलाई परिवर्तन गर्न सक्छौं। सबैको सहमति हुँदा पनि विधि मिच्न भने पाइँदैन। लोकतन्त्रको मान्यता यही हो।
तथापी, केही गलत कार्य त भएकै छन्। भागबण्डा मिलाउन उपसभापति, महामन्त्री, उपमहामन्त्री बढाउने कार्य सर्वथा गलत छ। विगतमा जे भयो भयो। अब पनि विधि बाहिरबाट निर्णय हुन्छ भने त्यसलाई स्विकार्न सकिन्न। विगतको गलत कार्यलाई सुधार्दै जानुपर्छ।
सहमतीय प्रक्रियामा नआउने र लोकतान्त्रिक पद्धतिमा पनि विश्वास नगर्ने तपाईंहरूमाथि आरोप छ। सभापतिलाई कामै गर्न नदिने तपाईंहरूको नियत पनि भनिन्छ नि?
विधानमा भएको व्यवस्था अनुसार २८ विभाग सभापतिले गठन गर्नुभयो भने त्यसलाई विरोध गर्ने भन्ने हुँदैन। विधानले दिएका प्रावधानलाई समयमा प्रयोग गर्न पर्यो नि। समय सिद्धिएपछि निर्णय गर्न मिल्दैन। ६ महिनाभित्र सभापतिले निर्णय गरेको भए कसैले रोकेको भएपनि रोकिदैनथ्यो।
४७ नै विभाग बनाउनुपर्ने नै हो भने पनि पहिले २८ गठन गरेर आवश्यकताअनुसार सबैसँग परामर्श गर्न सकिने थियो। सहमति गरेर ४७ नै पुर्याउन सकिने थियो। सभापतिको कार्यशैली के देखियो भने मैले गरेपछि,मैले भनेपछि म नै पार्टी हुँ भन्ने मनोवृत्ति देखियो।
पार्टीको सभापति भएकाले उहाँ हाम्रो नेता पनि हो। सभापति पनि दिइएको विधि र नियम परिधि भित्र बस्नुपर्छ। आवश्यकताले विधि परिवर्तन गर्न परे बहुमतको आधारमा होइन,सहमतिले गर्नुपर्छ। विधि प्रक्रियाको वेवास्ता गर्दै उहाँ अघि जानुभयो भने हामी त्यसको प्रतिरोध गरेर कहाँसम्म पुग्नुपर्छ, हामी त्यहाँसम्म पुग्छौं।
प्रमुख विभागमा तपाईंहरूले स्थान नपाएपछि त्यसकै विरोध हो भन्ने आरोप पनि छ तपाईंहरूलाई। यसमा पनि केही सत्यता त हो नै?
गलत कुरा हो। ६० प्रतिशत र ४० प्रतिशतको कुराकै विगतको सम्झदा अहिलेका सभापतिले एक जना कम हुँदा मैले मान्दिनँ भनेको त्यो बेलाको सम्झे पनि हुन्थ्यो। ६० र ४० प्रतिशत त परम्परै थियो। सहमति त्यसैअनुसार गरेको भएपनि हुने थियो। परम्परा त कायमै छ। यो परम्परा १४औं महाधिवेशनबाट त तोड्नैपर्छ।
सभापतिले स्थापति गरेको परम्परालाई उहाँले नै होइन भन्न सक्नुहुन्न। भागबण्डा पनि भन्न सक्नुहुन्न। आफूले स्थापित गरेको परम्परालाई नमान्ने कुरा दुखद् मात्रै होइन। आश्चर्यजनक पनि हो। विधानले दिएको व्यवस्था अनुसार नै ६ महिनामा गठन गरेको भए कसैले रोक्न सक्दैनथ्यो। कसैले रोक्न खोज्थे भने उनीहरूनै अर्घेल्याईंमा पर्थे। ठ्याक्कै महाधिवेशनको मुखमा त्यसलाई प्रभावित गर्ने गरी कब्जा गर्ने निर्णयलाई हामीले स्वीकार्दैनौं। उहाँले आफ्नो कुरा भन्दै गर्नुहोला। हाम्रो अडान यही हो।
महाधिवेशनको कार्यतालिकासँगै त्यससँग सम्बन्धित क्रियाकलाप विस्तारै बढ्न थालेका छन्। नेता/कार्यकर्ता महाधिवेशनका लागि तयार हुन थालेका छन्। कार्यतालिकाअनुसार साउन मसान्तभित्र क्रियाशील सदस्यता वितरण सक्ने भनिएको थियो। निर्धारित समयमा सकिने नहुने देखियो नि?
सम्भव भएन त मैले भन्दिनँ। केन्द्रीय कार्यसमितिमा मैले राखेकै कुरा सुनाउँछु। आग्रह र पूर्वाग्रह नराखेर मैले भनेको थिएँ, तोकिएकै समय अनुसार फागुनमा महाधिवेशन हुन जटिल छ। कोभिड १९, साउन भदौ वर्षाको समय,त्यस लगत्तै सुरु हुने पर्वहरू र जाडो समयमा हिमाली भेगमा पर्ने हिमपातलाई दृष्टिगत गर्दा तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना कम देख्छु। जेठ १५ भन्दापछि नलगौं केन्द्रीय समितिमा भनेको थिएँ।
महाविधेशन गर्ने नै भएपछि दृढ भएर लागौं भन्ने मेरो कुरा हो। फागुनको मितिलाई पुर्नविचार गरौं भन्ने व्यक्ति म पनि हो। म बोल्दाबोल्दै सभापतिले बीचमै रोकेर ‘होइन होइन’ फागुनमै गर्ने भन्नुभयो। त्यही मितिमा हुन्छ भनी सभापतिले भन्नुभयो। साथीहरूको दृढतालाई धन्यवाद दिन्छु भनेँ मैले पनि। सफलता प्राप्त हुन्छ भने अहिले नै बधाई दिन्छु पनि भनेँ। हामीले त गर्न खोजेको हो भएन भने त्यसको सम्पूर्ण जिम्मा तपाईंहरूको हुन्छ भनी मैले केन्द्रीय समिति बैठकमै भनेको हुँ।
फागुनमै गर्नपर्छ/हुनुपर्छ भन्ने मान्यतामा अहिले पनि म छु। यदि फागुनमा हुन सकेन भने पदाधिकारीको महाधिवेशन गर्ने नियतै थिएन भन्ने बुझ्नुपर्छ।महाधिवेशन समयमा भएन भने त्यो उहाँहरूकै जिम्माको कुरा हो।
कांग्रेसमा जहिलेपनि क्रियाशील सदस्यता वितरणको समयमा विवाद आइरहन्छ। नेताले क्रियाशील सदस्यता बनाउने र तिनिहरूले नै नेता चुन्ने परम्परा यसपटक पनि दोहोरिने भयो। विकृत परम्परालाई किन तोड्न सक्नुभएन?
यस बारेमा गत साता सभापतिको निवासमा सौहार्दपूर्ण छलफल भएकै हो। त्यस बैठकलाई सकरात्मक सुरुवात हो कि भन्ने सोंचेको थिएँ। अहिले विभाग गठन भएपछि त्यो सोंच पनि निरर्थक बन्यो।
क्रियाशील सदस्यता वितरणका लागि विधानमा लेखिएअनुसार नै वडा तहबाटै परिमार्जित भएर आउनुपर्छ। पार्टीमा अन्य पार्टीबाट भित्रिएकालाई केन्द्रीय स्तरबाट नै क्रियाशील सदस्यता वितरण हुनसक्छ। विजय गच्छदारको पार्टी कांग्रेसमा आएकोे विशेष व्यवस्थाबाहेक अरुलाई यति-यति क्रियाशील सदस्यता दिने भन्ने हुँदैन।
जिल्लामा गएको फारम अनुसार वडादेखि नै क्रियाशील सदस्य छनौट भएर आउनुपर्छ। जिल्लाबाटै क्रियाशील सदस्यता निर्धारण हुनेमा सबै पक्षमा सहमत पनि भएका छौं। सहमति भइसकेको अवस्थामा अन्य कुरालाई मैले प्रश्न उठाउन्न,भएको सहमतिलाई विश्वास गर्छु।
कांग्रेसले क्रियाशील सदस्य वितरणमा अकुंश लगाएको भनिन्छ। युवा पुस्तालाई आकर्षित गर्नुपर्नेमा युवालाई नै पार्टीमा प्रवेश रोक्ने भएपछि कसरी नयाँ पुस्ता पार्टीमा आउँछ? क्रियाशील सदस्यता वितरण एकलौटी बन्ला भन्ने तपाईंहरूको डर हो?
होइन। विधि र विधान अनुसार युवापुस्ता प्रवेश गरोस् भन्ने हो। युवाहरूलाई प्रभावकारी प्रवेश गराउनुपर्छ। पार्टीलाई योगदान दिनसक्ने युवा नछुटोस् भनेर नै अहिलेको विद्यमान ४ लाख ६८ हजार क्रियाशील सदस्यलाई शतप्रतिशत थपेर झन्डै १० लाख क्रियाशील सदस्य पुर्याउने निर्णय गरेका छौं। त्यो निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्न भने बाँकी छ। त्यो निर्णयको अर्थ नै कांग्रेसमा प्रवेश गर्न चाहने हरेक युवालाई ल्याउन सकियोस् भन्ने हो।
युवाहरूलाई अनिवार्य रूपमा पार्टीमा सहभागी गराउनै पर्छ। भोलिको नेतृत्व, पार्टी परिचालन गर्न वा नयाँ चेतनाका अभियन्ता युवा नै हुन्। युवालाई रोक्ने भन्ने त प्रश्नै उठ्दैन।
कार्यतालिकाअनुसार महाधिवेशन समयमा नभए त्यसको जिम्मेवारीले त तपाईंले पनि शीर्ष नेताको हैसियतले लिनुपर्ला नि?
त्यो एकपटक पदाधिकारीलाई सोध्नुस् है। उहाँहरूको त्यो दृढता यति चाडो कसरी शिथिल भयो भनेर। उहाँहरूको के मनशाय हो? मैले प्रष्ट कुरा केन्द्रीय समितिमा राखिसकेको पनि छु। फागुनमै गर्ने सभापतिले भनेपछि त्यही निर्णय भयो। फागुनमै हुनुपर्छ भन्ने मात्रै मलाई थाहा छ।
कोरोना संक्रमणको जोखिमले जमघट, कार्यकर्ता भेट्ने समय अहिले छैन। महाधिवेशन प्रभावित हुने संकेत देखिएको छ। शीर्ष नेताले यसप्रति किन ध्यान नपुर्याएको होला?
यति पनि दूरदृष्टि नहुने हामी र हाम्रो नेतृत्व कस्तो छ? महामारी विश्वव्यापी छ। कुन बेलासम्म कोरोनाले प्रभावित गर्ला एकिन पनि छैन।
फागुनमा महाधिवेशन हुनुपर्ने निर्णय गर्ने तर नगर्नेहरू नै यसका जिम्मेवार छन्।
सभापतिका आकांक्षी तपाईंको समूहमा धेरै देखिन्छन्। फागुनमा नै महाधिवेशन हुने हो भने आफ्नो समूहबाट सभापतिको नाम सार्वजनिक गरी महाधिवेशन केन्द्रित हुने बेला भएन र?
लोकतान्त्रिक पद्धति छ। यो पद्धतिमा वादप्रतिवाद र संवाद हुने गर्छ। विभिन्न विचारको घर्षण हुन्छ। तिनीहरूबीचको द्वन्द्वबाट जुन सत्य निस्कन्छ, त्यसैलाई मान्ने पद्धति हो।
लोकतन्त्रभित्र वैचारिक संघर्ष हुन्छ। व्यक्तित्वको प्रतिस्पर्धा पनि हुन्छ। वैचारिक र व्यक्तित्वको प्रतिस्पर्धा भोलि जो-जो पनि उठ्न सक्छन्। विधानको सीमामा कोही पनि उठ्न सक्छन्। अहिले त्यतातिर चिन्तित नहौं। जो पनि उठ्न सक्छन्। सभापतिमा उठ्न सक्नेमध्ये एक म पनि हो। अहिलेसम्म घोषणा नै गरेको त थिइनँ। तर सभापतिमा उठ्ने घोषणा आजैबाट गर्छु। सकेसम्म बृहत रूपमा सहमति गरौं भन्ने पक्षमा छु।
पार्टी अत्यन्तै चुनौतीपूर्ण अवस्थामा छ। पार्टी मात्रै होइन, देश नै संकटको अवस्थामा छ। अन्तराष्ट्रिय द्वन्द्वको चपेटामा देश परेको छ। त्यसबाट उम्केर देशलाई सन्तुलन दिन सक्ने पार्टी कांग्रेस मात्रै हो।
पार्टीले विभिन्न विकल्पमा गम्भीर भएर सोच्नुपर्ने अहिलेको परिस्थिति छ। जोसुकै सभापतिमा उठेपनि पार्टीभित्र वैचारिक पुनर्जागरणसहितको कांग्रेस पार्टी निर्माण गर्न सक्ने हुनुपर्छ। जनताको पार्टी कांग्रेस हो भन्ने इतिहासको स्थापित मान्यता छ। स्थापित पार्टीको मान्यतालाई पुनर्जीवन दिन सबै मिलेर काम गरौं।
सभापतिका अलोकतान्त्रिक कार्यलाई सुधार्नुपर्छ भनी लाग्ने समूह छौं। एकता कायम गर्ने कोसिस पनि गर्छौं। एकताबद्ध हुनलाई पहिले वैचारिक एकता हुनुपर्यो। वैचारिक एकता भएन भने आफ्नो आफ्नो ढंगले आफूआफू लड्लान्। परिणाम जे आउँछ आउँछ।
पार्टीमा विभिन्न समूह छन्। समूहका पनि उपसमूह देखिन्छन्। आफ्नै पनि समूह बनाएको भए हुने जस्तो पनि लाग्छ कि तपाईंलाई पनि?
म पार्टीभित्र गुण र दोषका आधारमा सहमति र समर्थन गर्ने मान्छे हुँ। पार्टीभित्र समूह बनाएका भन्दा धेरै साथीहरू मसँग छन्। तर, समूह र गुट बनाएको छैन। कहिलेकाही गुट नबनाएर गल्ती भयो जस्तो पनि लाग्छ। कहिलेकाहीँ गुण र दोषका आधारमा समर्थन गर्नु ठीक हो जस्तो पनि लाग्छ।
म सभापतिमा उम्मेदवारी दिनका लागि वैचारिक खाका तयार गर्दैछु। आमूल सुधार र वैचारिक पुनर्जागरण, भ्रष्टाचार विरोधी राष्ट्रिय अभियान, आन्तरिक प्रजातन्त्र बलियो बनाउने, पार्टीलाई नेतामुखी होइन, नीतिमुखी बनाउने, संस्थामुखी बनाउने र शक्ति होइन, सत्यलाई पूजेर त्यसका निम्ति निर्भीकतापूर्वक अघि बढ्ने पार्टी बनाउने मेरो धारणा हो। मेरा यी विचारलाई जसले साथ दिन्छ, त्यो भोलि मेरो उम्मेदवार हुन पनि सक्छ। त्यसो नभए म आफैं उठ्छु।
भोट कति आउला? परिणाम के होला। मलाई कुनै मतलब छैन। तर, पार्टीभित्रको वैचारिक आन्दोलन अघि बढाउन तत्पर छु। हामीभित्र सहमति खोजौंला। नयाँ पुस्ताका प्रभावशाली नेता कसैलाई सहमति गर्नुपरे त्यसमा पनि सहमति गर्न सकिन्छ। समग्र पार्टीभित्र सहमति खोजौं भने पनि ठीक छ। त्यसो होइन भने म पनि उम्मेदवार हो।
अघिल्लो पुस्ता संरक्षक बनेर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने तपाईंको मत छ। यसका लागि तपाईंले केही पहल थाल्नुभयो त?
मैले विचार राखेको हो। विचार राख्दै जाँदा मानिँदै जाने, परिस्थितिले त्यो स्थापित गर्दै जाने र माहोल त्यस्तो बन्दै जाने होला । पार्टीलाई पुनर्जागरण दिन पार्टीभित्र व्यापक रूपमा युवा आकर्षण गराउन जरुरी छ। योभन्दा फरक बाटो राम्रो हुन्छ भने त्यो पनि कसैले भनौं। तर, अहिलेको याथस्थितिबादी नेतृत्वाट पार्टीको पुनर्जागरण सम्भव छैन।
हालको नेतृत्वबाट कांग्रेसको पुनर्जागरण सम्भव छैन भन्नुभयो। तर, १४औं महाधिवेशनपछि गतिशील नेतृत्व प्राप्त हुने आधार के देख्नुहुन्छ?
आम कार्यकर्तामा गतिशीलता छ। आम कार्यकर्तामा अहिलेको नेतृत्वको कामकारबाहीप्रति असन्तुष्टि छ। सीमित सोच राख्ने भन्दा त्यो पङ्क्ति ठूलो छ। उनीहरू परिवर्तन चाहन्छन्। वैचारिक पुनर्जागरण चाहन्छन्। उनीहरू महाधिवेशनमा आउँछन्। गतिशीलता कसैले रोकेर रोक्न सक्छ र? महाधिवेशनले भन्ला– को युधिष्ठिर र को दुर्योधन? महाधिवेशन ठूलो फोरम हो। त्यसलाई निर्णय गर्न दिऔं। निष्कर्ष निकाल्न नहतारिऔं।
अबको महाधिवेशनपछि गुटको पनि अन्त्य गर्ने र निर्वाचनमा पहिलो पार्टी बनाउने प्रतिबद्धतासहित सभापति बन्नुपर्छ र त्यसो गर्न नसके राजिनामा दिने जोखिम मोल्न सक्ने नेतृत्व छान्नुपर्ने आवाज उठ्न थालेको छ। यसमा तपाईं सहमत हुनुहुन्छ?
यसमा मेरो विमतिभन्दा पनि फरक मत छ। ‘म सक्छु’ पहिलो पार्टी बनाउन भनेर कोही क्षमता नै नभएको मान्छे अघि सर्ला। उसलाई कसरी सभापति बनाउने? उसको योग्यता, क्षमता, दूरदर्शिता र जनमानसमा भएको आस्था र विश्वास भएका व्यक्तिहरूमध्येबाट हुनसक्छ। यसमा मेरो आपत्ति छैन। कुर्सी पाएपछि छाड्दै नछाड्ने संस्कार भएका व्यक्तिले हारेपछि राजिनामा देलान् भन्ने के विश्वास? यी यस्ता धेरै कुरा छन्। त्यो प्रस्तावका निम्ति प्रस्ताव आयो होला। व्यक्ति नै त्यस्तो आओस् न। अनि विचार गरौंला।
सहमतिका लागि अधिकतम विन्दु कहाँसम्म त्याग गर्न तयार हुनुहुन्छ?
सबै ढंगले त्याग गर्न तयार छु। सुधारवादी नेतृत्व ल्याउन तयार छु। युवालाई दिन तयार छु। निश्चित मापदण्ड अपनाएर सबै पुराना नेता संरक्षक भएर बसौं भने पनि तयार छु। त्यसो होइन भने म त उम्मेदवार हो। कसैले रोक्न सक्दैन।
महामन्त्री शशांक कोइरालाले हिजै 'फायरसाइड'मा आफैंले के भन्नुभयो भने १३औं महाधिवेशनमा शेरबहादुर देउवाले अर्जुन नरसिंह केसीलाई होइन, मलाई सहयोग गर्नुभएको थियो। त्यत्रो ठूलो दुईटा ग्रुपको साँठगाँठ, देशीविदेशी शक्ति र मेरो आफ्नै ज्वाइँ गगन थापा लड्दा पनि मेरो हार त करिब डेढ सय मतले भएको हो नि! मलाई माया गर्नेको संख्या ठूलो रहेछ नि त! त्यसैले म पार्टीको वैचारिक पुनर्जागरणका लागि सभापतिमा उठ्छु।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।