काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पाकिस्तानका लागि दुई स्वर्ण विजेता र एक कास्य पदक विजेता खेलाडीलाई प्रतिबन्ध लागेको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार विज्ञप्ति जारी गर्दै पाकिस्तानका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको जानकारी दिएको हो। एनओसीका अनुसार खेल नियमविपरीत शक्तिवर्धक औषधिको प्रयोग गरेको कारण एथ्लेटिक्सका समी उल्लाह, मोहम्मद नइम र मेहबुब अलीलाई चार वर्षको प्रतिबन्ध लगाइएको हो।
मोहम्मद नइमले १०० मिटर हर्डल्समा स्वर्ण पदक जितेका थिए। त्यस्तै, मेहबुब अलीले ४०० मिटर हर्डल्समा स्वर्ण जित्दा समी उल्लाहले १०० मिटर स्प्रिन्टमा कास्य पदक जितेका थिए।
तीनै जना खेलाडीको प्रतियोगिता भएकै बेला डोपिङको परिक्षण गरिएको थियो। विश्व एन्टी डोपिङको नियमअनुसार तीनै जना खेलाडीलाई पुनः ‘बी स्याम्पल टेस्ट’ को अवसर दिइएको थियो। तर मोहम्मद नइम र मेहबुब अलीले ‘बी स्याम्पल टेस्ट’ गराए पनि समी उल्लाहले भने गराएका थिएनन्।
‘बी स्याम्पल टेस्ट’ गर्दा पनि मोहम्मद नइम र मेहबुब अलीको प्रतिबन्धित औषधी प्रयोग गरेकै देखिएको थियो। जाँचपछि खेलाडीले पनि शक्तिबर्धक औषधि सेवन गरेको स्वीकारेको बताइएको छ।
कारबाहीमा परेसँगै तीनै खेलाडीको पदक खोसिएको छ। २०१९ को डिसेम्बर ३ तारिखबाट २०२३ को डिसेम्बर २ तारिखसम्म ४ वर्षको लागि प्रतिबन्ध गरेको एनओसीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।