काठमाडाैं-धरान उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै धरान कार्यपालिका बैठकले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको मेयर तिलक राइले बताए। यसअघि साउन २२ गतेदेखिको साउन २८ गतेसम्म लकडाउन गरिएकाे थियो।
उक्त अवधि वुधबार मध्यराति १२ बजे सकिँदै थियो। लकडाउनको म्याद सकिन लागेपछि बिहान कार्यपालिका बैठक बसेर समय थपेको मेयर राईले बताए। यस्तै, बाहिरी नाकाबाट आउने खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय पनि नगरपालिकाले गरेको छ। तर आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको पनि उनले बताए ।
‘धरानबाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको छ,’उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध तथा तरकारी सहजीकरण गरिनेछ तर दोकान खोल्न पाइने छैन । ठेक्का हुनेले पुर्याउन पाउछन् । डोकोमा घरमा तरकारी लैजान पाइन्छ ।’
संक्रमणबाट बँच्न सर्तकता अपनाउनु पर्ने भएकाले कार्यपालिकावाट निर्णय गरिएको मेयर राईले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।