तनहुँ-बहुविवाह मुद्दामा फरार एक महिलालाई मंगलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। प्रहरीले जिल्लाको व्यास नगरपालिका-६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो।
२०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतकोे फैसलाले मल्लउपर तोकेकोमध्ये ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालतसमक्ष पेश गरिएको हो। फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन् ।
अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।
एक महिनामा ४० पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले साउनको एक महिना नबित्दै करिब ४० जनालाई पक्राउ गरेको छ। प्रहरीले अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएका विभिन्न मुद्दाका फरार व्यक्तिलाई धमाधम पक्राउ गर्दै कानुनी दायरामा ल्याउन थालेको छ ।
बहुविवाह, चोरी, कर्तव्य ज्यान, लागूऔषध, बलात्कारलगायत मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।