काठमाडौं-लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टविरुद्ध दायर भएको रिट उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले आफ्नै इजलाशमा पेशी तोकेका छन्।
मुख्य न्यायाधीश सुवेदीको इजलाशमा ‘ग’ नम्बरमा उक्त मुद्दाको पेशी रहेको छ। अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्ति रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका छन्।
भुजेलले भट्ट नियुक्तिको निर्णय कानुनबमोजिम नभएको दावी गर्दै उच्च अदालत पाटनमा सोमबार सार्वजनिक सरोकारको रिट दायर गरेका थिए। उक्त रिटमा उच्चले मंगलवार पहिलो सुनुवाइ गर्दै छ। मंगलबार हुने सुनुवाइले भट्टको नियुक्ति भए पनि काम गर्न रोक लगाउने वा नलगाउनेबारे निर्णय गर्ने छ।
उच्चले कार्यकारी प्रमुखको रुपमा कुनै काम नगर्नु भनेर अन्तरिम आदेश जारी गरेमा उनले मुद्दाको फैसला नभएसम्म काम गर्न पाउने छैनन्। उच्चले अन्तरिम आदेश जारी नगरेमा मात्र जिम्मेवारी सम्हाल्न पाउनेछन्। उच्चले पहिलो सुनुवाइ भएकाले लिखित जवाफ माग्दै छलफलमा पनि बोलाउने छ।
गत सोमबारको मन्त्रिपरिषदले भट्टलाई ४ वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको छनोट समितिले भट्ट, रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम सिइओका लागि सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।