काठमाडाैं-अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी रामचन्द्र तिवारीले विभागले दिँदै आएको सेवा हाललाई स्थगित गरिएको जानकारी दिए।
अन्य कर्मचारी पनि संक्रमित भएको हुनसक्ने र त्यसबाट अन्यत्र सर्न सक्ने जोखिमलाई ध्यानमा राखेर अत्यावश्यकीय कामका लागि तीन अध्यागन अधिकृतलाई तोकिएको उनले बताए।
विभागले सूचना जारी गर्दै अन्त्यन्त जरुरी काम परेको अवस्थामा विभागका अध्यागमन अधिकृत कुलशेखर अर्याल, पवनकुमार गुप्ता र मधुुसुदन भट्टराईलाई तोकिएको उल्लेख गरेकाे छ।
विभागका ५७ जना कर्मचारीको पिसीआर परीक्षण गरिएको थियो। त्यसमध्ये ५६ जनामा नेगेटिभ आएको र एक जनामा पोजेटिभ आएको उनले बताए। ‘कर्मचारीमा पोजेटिभ आएपछि इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेका छौं,’ उनले भने, ‘अब उहाँको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण हुन्छ ।’
उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ। विमानस्थलका कर्मचारीको समेत नियमित परीक्षण भइरहेको र त्यहाँ भने पोजेटिभ नपाइएको उनले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।