काठमाडौं– कोभिड- १९ का कारण नेपाल नागरिक उड्डयन प्राधिकणको आम्दानी लक्ष्यभन्दा ४३ प्रतिशतले कम भएको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब ५४ करोड ४१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो। तर, चैतदेखि हवाई सेवा तथा विमानस्थल बन्द भएसँगै प्राधिकरणको आम्दानीमा कमी आएको हो।
प्राधिरकणले ५ अर्ब ९६ करोड ५१ लाख ४९ हजार रुपैयाँमात्रै आम्दानी गरेको छ। प्राधिरकणले लक्ष्यभन्दा ४ अर्ब ५० करोड ६१ लाख कम आम्दानी गरेको हो। नियमित आम्दानीतर्फ ८ अर्ब ३३ करोड १३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकाेमा जम्मा ४ अर्ब ६१ करोड ७३ लाख ५५ हजार रुपैयाँमात्रै आम्दानी गरेको प्राधिकरणले जनाएकाे छ।
यसैगरी विमानस्थल विकास सेवा शुल्कमार्फत प्राधिकरणले २ अर्ब २१ करोड २८ लाख आम्दनी गर्ने लक्ष्य भएपनि जम्मा १ अर्ब ३४ करोड ७७ लाख ९४ हजार रुपैयाँमात्रै आम्दानी गरेको छ।
४२ प्रतिशतमात्रै बजेट खर्च
कोभिड–१९ कै कारण नागरिक उड्डयन प्राधिकरणको बजेट खर्चमा कमी आएको छ। प्राधिकरणले गत आर्थिक वर्षका लागि ४६ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको थियो। जसमा प्राधिकरणले जम्मा १९ अर्ब ५१ करोड ५५ लाख २९ हजार रुपैयाँमात्रै खर्च गरेको छ।
पुँजीगत खर्चतर्फ कूल विनियोजित बजेटको ४० दशमलब ६८ प्रतिशत रकममात्रै खर्च भएकाे छ। प्राधिकरणले पुँजीगत खर्चतर्फ गत वर्ष ३४ अर्ब ४ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेकोमा जम्मा १३ अर्ब ८३ करोड ५९ लाख रुपैयाँमामात्रै खर्च गरेको छ।
यसैगरी प्राधिकरणले कार्यसञ्चलनतर्फको विनियोजन बजेटमा भने ८१ दशमलब ३१ प्रतिशत र आयकर र अन्य खर्चतर्फ भने कूल विनियोजन बजेटको २६ प्रतिशतमात्रै बजेट खर्च गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।