काठमाडौं-आकाशे रंगको पुरानो सर्ट। हाफ कट्टु। खुट्टामा चप्पल। अनुहारमा मास्क। बबरमहलमा फलामको रड उचाल्दै गरेका भेटिए सिन्धुलीका रामनारायण धामी। लकडाउनपछि उनले काम पाएको ४ दिनमात्रै भयो। काम सुरु गरेकै दिनदेखि खोकी लागेपछि मास्क लगाएरै खटिएका छन् उनी।
धामी केही महिना अगाडिसम्म साउदीमा काम गर्थे। काम राम्रै थियो। घरपरिवारको यादमा उनी बिदा मिलाएर गत पुस १६ गते साउदीबाट नेपाल आए।
उनी फर्किएको केही समयपछि विश्वभरि नै कोरोना महामारी सुरु भयो, जसका कारण उनी साउदी फर्कन पाएनन्। काम पनि गुम्यो।
‘के गर्नु, कम्पनीले भिसा थपिदिएको भए त जान पाउथेँ। कम्पनीले बोलाउँदै बोलाएन,’ रड उचाल्दै सानो स्वरमा रामनारायणले भने।
अब वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएर जाने बाटो खुले पनि उनको उमेरले डाँडो काटिसकेको छ।
‘विदेश जान उमेरले डाँडो काट्यो। देशमा काम पाउन मान्छे चिनेको हुनुपर्ने। के गर्नु हजुर गाह्रो पो छ त। धन्न साथीहरुले ठेकेदार चिनेको भएर यहीँ लेवर काम पाइहालें,’ ४९ वर्षीय रामनारायणले सुनाए।
विदेशबाट फर्किएर जेठा छोराको विवाह गर्दा उनले कमाएर ल्याएको थोरै रकम त्यसमै खर्च भयो। केही बचेको रकम पनि लकडाउनमा ४ महिना घर बसेर खाँदा सकियो।
‘हामी दिनभरि काम गरेर बिहान-बेलुका मुखमा माड लगाउने मान्छेलाई लकडाउनले साह्रै गाह्रो पर्यो नि,’ उनले भने ।
परिवारको खर्च धान्ने रामनारायण एक्लै हुन्। घरमा अहिले उनीसहित श्रीमती, छोराहरु, बुहारी, नातिनी गरेर ७ जनाको परिवार छ। अहिले काठमाडौंमा दैनिक १० घण्टा खट्दा ९ सय कमाइ हुन्छ। दैनिक ९ सयका दरले हिसाब गर्दा मासिक २७ हजार।
‘काठमाडौंमा खर्च पनि उत्तिकै छ। दिनको ५ सय त आफ्नै लागि खर्च हुन्छ। घरमा कति पो पठाउने,’ विदेशको बाटो बन्द भएपछि देशमै मजदूरी थालेका उनलाई घर खर्च कसरी धान्ने भन्ने चिन्ताले पिरोलेको छ।
विदेशबाट फर्किएकालाई सरकारले गाउँमै काम दिन्छ भनेका सुनेका थिए रामनारायणले। तर गाउँमा काम पाएनन्। जसले गर्दा ज्यामी काम गर्न काठमाडौं नै आउनुपर्यो।
‘कुरा त मीठो सुनियो। काम कतै केही पाइएन। पहिलेको जस्तै त रहेछ नि, लेवर काम गर्न काठमाडौं आउनै पर्ने भयो,’ उनी आफैँसँग प्रश्न गर्छन्, ‘काठमाडौंमा खर्च बढी छ । दिनमा १० घण्टा खट्दा ९ सय कमाइ छ। कति खाने, कति बचाउने?’
हुन त उनी साउदी जानुभन्दा अगाडि पनि ज्यामी कामका लागि काठमाडौं नै धाउनुपर्थ्याे।
सिजनमा उनी खेतबारीमै काम गर्थे। काम नभएका बेलामा दुई छोरा र श्रीमतीलाई घरमै छाडेर मजदूरी गर्न काठमाडौं छिर्थे। ज्यामी काम गरेर दैनिक ४ देखि ५ सय कमाइ गर्थे। कमाइको आधाजति खर्च हुन्थ्यो, बचेको आधा रकमबाट सरसामान लिएर फेरि चाडबाडको समयमा उनी घर फिर्थे।
परदेश गएका उनका दौँतरी र छिमेकीहरु सुकिलोमुकिलो भएर गाउँ फर्कन्थे। जोड–तोडले क्यासेट घन्किएको हुन्थ्यो। क्यासेट बजेको सुनेपछि सबै गाउँलेहरु झ्यालबाट खोलेर परदेशीलाई हेर्न थाल्थे। केटाकेटी र बुढाबुढीहरु परदेशी आएको हेर्नकै लागि गाउँभन्दा माथिको चौतारामा निस्कन्थे। अझ टन्न झोला बोकेका भरियाहरुसहित फर्कँदा त्यो बेला गाउँमा उनीहरुको बेग्लै सान हुन्थ्यो।
तर रामनारायण गाउँ फर्कँदा न क्यासेट घन्किन्थ्यो न त साथमा भरिया नै हुन्थे। नुन, मसला, तेल, छोराहरु र श्रीमतीका लागि केही लुगाफाटो, यस्तै केही सामानको सानो भारी बोकेर उनी गाउँ फर्कन्थे। त्यसैले त उनी फर्कँदा गाउँलेहरु झ्यालढोकाबाट चिहाउँदैनथे। उनलाई हेर्नकै लागि केटाकेटी र बुढाबुढीहरुको झुण्ड पनि चौतारीमा जम्मा हुन्थेन।
‘बालुवा र इँटाको भारी बोकेर बल्लतल्ल पैसा जम्मा पारेर जाने म त धुस्रेफुस्रे नै हुन्थेँ। मलाई गाउँले र केटाकेटीले कहाँ पत्याउन् त’, उनले विगत सुनाए। यसो भन्दा उनको अनुहार अलिकता उज्यालो भएको थियो।
त्यो दृश्यले रामनारायणको मन कटक्क बनाउँथ्यो। यसैले त उनको मनमा पनि साथीभाइले जस्तै गरी विदेशबाट टन्न कमाइ गरेर फर्कने हुट्हुटि पसेको थियो।
‘दुःख गरेपछि कमाइ पनि हुन्छ। एकमुष्ठ कमाएर फर्कँदा कम्ता मज्जा हुन्छ? यहाँ बस्नुभन्दा त बरु परदेश नै ठिक छ,’ साथीहरु पनि यस्तैयस्तै सुनाउँथे ।
तर विदेश जान पनि पैसा हुनुपर्यो नि। सम्पतिका नाममा ओतलाग्ने सानो छाप्रो र थोरै खेतबारी थियो। कहिले काठमाडौं त कहिले सिन्धुली धाउँदाधाउँदै १० वर्ष बिताइसकेका रामनारायणसँग विदेश जाने पैसा पनि थिएन।
‘१० वर्ष ज्यामी काम गर्दा घर खर्च धान्नबाहेक अरु केही जोहो गर्न सकेको थिइनँ। म काठमाडौं धाउन सुरु गर्नुभन्दा निकै पछाडी विदेशिनेहरुले फर्किएर गाउँमा पक्की घर ठड्याइसकेका थिए,’ उनले सुनाए ।
छोराहरु बढ्दै जाँदा खर्च बढेसँगै रामनारायणलाई भने आफ्नो कमाईले घर खर्च धान्नै मुस्किल हुन थालेको थियो। विदेशिने रहरसँगै बाध्यता थपिँदै गएको थियो। त्यसपछि रामनारायण परदेशको बाटो रोज्न बाध्य भएका थिए।
विदेश जाने भनेपछि साथीहरुले उनलाई ऋण पनि दिने भए। साथीहरुसँग २ लाख ऋण लिएर २०६६ सालमा उनी साउदी उडेका थिए।
निर्माण (कन्स्ट्रक्सन) कम्पनीमा सेक्युरिटी गार्डको काम थियो। दैनिक ८ घण्टा काममा खट्दा मासिक ७ सय साउदी रियाल (२० हजारभन्दा बढी नेपाली रुपैयाँ) कमाई गर्थे। त्यतिबेलाको समयमा नेपालमा मासिक १२ हजार कमाइ गरिरहेका रामनारायणका लागि त्यहाँको २० हजार पनि निकै ठूलो थियो। अझ ओभरटाइम गर्दा २५ हजारसम्म कमाइ गर्थे।
काम गरेको ३ वर्षपछि साहुले २ सय बढाएर दैनिक ८ घण्टा काम गरेबापत पारिश्रमिक मासिक ९ सय रियाल बनाइदियो। त्यसले रामनारायणमा केही खुसी थपेको थियो। उनी बिदामा आउने र फेरि फर्कने क्रम चलिरहेको थियो। परदेश बाध्यताबाट बिस्तारै लत नै बन्दै गएको थियो उनलाई।
‘पछिल्लो समय तलब फेरि बढेको थियो’ उनी भन्छन् ‘साहुले मासिक ११ सय रियाल ९३५ हजार नेपाली रुपैयाँ० बनाइदिएको थियो।’ ओभरटाइम काम गर्दा उनी झण्डै ४५ हजार नेपाली रुपैयाँ मासिक कमाइ गर्ने भइसकेका थिए। साउदीकै कमाइले उनले छोराहरु पढाए। साथीहरुले जस्तै गाउँमा पक्की घर पनि ठड्याइसकेका छन्।
‘छोराहरुले त राम्रोसँग पढेनन्। एउटाले एसएलसीमा फेल भयो, अर्कोले एसएलसीसम्म पढ्यो। काम पनि केही गरेनन् तर विदेशको उपलब्धी गाउँमा घरचाहिँ बनाएँ,’ सफलताको कथा सुनाउँदै गर्दा मास्कको बाहिरैबाट रामनारायणको मुहारमा छाएको खुसीको धर्सो देख्न सकिन्थ्यो।
उनको काम त्यति गाह्रो पनि थिएन । कार्यस्थलमा मान्छे र गाडीहरु आउँदा–जाँदा गेट खोल्ने र बन्द गर्ने गर्नुपर्थ्याे। त्यही
काम गरेर साउदीमा ११ वर्ष बिताएका रामनारायणको रोजगारी कोरोनाले खोसिदियो ।
कम्पनीले बोलाएसम्म उनलाई साउदी नै गएर काम गर्ने सोच थियो। अझै केही वर्ष कम्पनीले भिसा थपिदिएको भए त बैंकमा थोरै भए पनि पैसा जम्मा गर्ने र गाउँमै फर्किएर केही गर्ने सपना थियो रामनारायणको। तर उनको सपना कोरोनाले भताभुङ्ग बनाइ दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।