काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले टि २० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ।
आज घोषित क्लोज क्याम्पको सूचीमा अलराउन्डर मोहम्मद आदिल आलमले कमब्याक गरेका छन्।
आदिलले करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन्।
आदिल केही वर्ष अघि नेपाल टि ट्वान्टी लिगमा फिक्सिङको आरोपमा प्रतिबन्ध परेका थिए। आरोप प्रमाणित नभएपछि प्रतिबन्ध मुक्त भएका आदिल त्यसयता पहिलो पटक प्रारम्भिक टोलीमा परेका हुन्।
यु१९ का स्टार युवराज खत्रीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्।
नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ। त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इण्डिजसँग ३ खेलको टि ट्वान्टी आई सिरिज पनि खेल्नेछ।
छनोटमा ९ राष्ट्रको सहभागीता रहने छ। सहभागी राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष २ देशले सुपर सिक्समा स्थान बनाउने छन्।
सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्। नेपाल छनोटको समूह चरणमा कुवेत र जापानको सामना गर्नेछ। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउँने लक्ष्यमा छ।
प्रारम्भिक नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, बिबेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, आदिल आलम, पवन सर्राफ, शेर मल्ल, सुभ कंसाकर, अर्जुन घर्ती
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।