काठमाडौं- कार्यालयमा कोरोना देखियो भने के होला? कर्मचारीको भागाभाग होला, व्यवस्थापनले घटनालाई लुकाउने प्रयास गर्ला। तर, एमएडब्लू इन्टरप्राइजेजमा यी दुवै भएनन्। यहाँका ६ कर्मचारीमा जनामा कोरोना देखिए पनि व्यवस्थापन र कर्मचारी पक्षले देखाएको संयमता उदाहरणीय छ।
गत आइतबार त्रिपुरेश्वरस्थित एमएडब्लूको टु–ह्विलर ब्रान्ड यामाहाको कर्पोरेट अफिसमा एक जना कर्मचारीमा ज्वरो देखिएपछि पिसिआर गरिएको थियो। उनको रिपोर्टमा कोरोना पोजिटिभ देखियो। लगत्तै त्यहिँ दिन, उनको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आएका ६१ जना कर्मचारीको पिसिआर परीक्षण गरिएकोमा थप पाँच जनामा कोरोना पोजेटिभ देखियो।
कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई स्थानीय प्रशासन र प्रहरीसँग सहकार्य गरेर उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचारका लागि पठाइएको कम्पनीले जनाएको छ। कम्पनीले २ दिनका लागि कार्यालय पूर्णरुपमा बन्द गरेको थियो। ‘कोरोना पोजेटिभ देखिएका एमएडब्लू कर्मचारी पाटन अस्पताल र केएमसी अस्पतालमा उपचार गराई रहेका छन्। 'हामी उहाँको नियमित सम्पर्कमा छौं,’ टु-ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने, ‘हामीले कार्यालयमा सुरक्षा प्रोटोकलका हरसम्भव उपाय अवलम्बन गरेका थियौं। मिटिङहरु अनलाइन गरिरहेका थियौं।'
कर्मचारीको उपस्थिति ५० प्रतिशतमा सीमित गरिएको शाहले बताए। ‘सामाजिक दूरी, स्यानिटाइजेसन र मास्कलाई कडाइका साथ पालना गरिरहेका थियौं। यसका बाबजुद हाम्रो कर्मचारीमा कोरोना देखिएको हो,’ शाहले अगाडि भन्छन्, ‘तर हामी हतासिएनौं। बरु प्रशासनसँग सहकार्य गरेर उचित व्यवस्थापन गर्यौं। हाम्रो अफिस महानगरपालिकाका कर्मचारी आएर डिसइन्फेक्ट गरेर जानु भएको छ र अहिले सीमित कर्मचारी आएर काम गरिरहेका छौं।’
‘कोरोना देखिएको सोरुममा होइन, कर्पोरेट अफिसमा हो,’ उनी भन्छन्, ‘हालसम्म सोरुममा कसैलाई कोरोना देखिएको छैन। कसैमा कुनै लक्षणसमेत देखिएको छैन।’
एमएडब्लूमा कोरोना भेटिएकोबारे विभिन्न अड्कलबाजीहरु हुन थालेपछि व्यवस्थापनले सत्यतथ्य जानकारी दिन बिहीबार सार्वजनिक सूचनासमेत जारी गरेको छ।
सूचनामा कार्यालयमा कोरोनाको ६ वटा केस देखिएको र उनीहरु अस्पतालमा उपचाररत रहेकाे उल्लेख छ। साथै, सोरुमहरु यामाहाको अन्तर्राष्ट्रिय गाइडलाइनअनुसार नियमित रुपमा स्यानिटाइज गरिएको, सुरक्षा सामग्री प्रयोग गरिएको, सामाजिक दूरी पालना गरिएको र एकदम न्यून कर्मचारी उपस्थित हुने गरिएको सूचनामा उल्लेख छ।
कोरोना देखिनु सामान्यजस्तै भएको अवस्थामा कोरोनाको व्यवस्थापन बढी महत्वपूर्ण भएको शाह बताउँछन्। ‘हाम्रा यी सबै तयारीका बाबजुद कर्मचारीको मनोबलका लागि हामीले सबै कर्मचारीको कोरोना बिमा पनि गराएका छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।