काठमाडौं-संघीय सरकारले सचिव व्यवस्थापन गर्न नसक्दा प्रदेशमा प्रमुख सचिव रिक्त छन्। कर्णाली प्रदेशका तत्कालीन् प्रमुख सचिव टेकनारायण पाण्डेलाई भूमिव्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा सचिव बनाइएसँगै त्यहाँ अर्को मान्छे पठाइएको छैन।
तर पाण्डेलाई काठमाडौं ल्याउँदा भूमि व्यवस्थाबाट फालिएका सचिव केदार न्यौपानेलाई अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन। न्यौपानेलाई अतिरिक्तमा राखिएको छ।
अहिले न्यौपानेमात्रै होइन सचिवहरू मधुकुमार मरासिनी र वीरबहादुर राई पनि जिम्मेवारीविहीन छन्। मरासिनी दुई साताअघि र राई सोमबार सचिव बढुवा भएका थिए। मरासिनी एक वर्षभन्दा धेरै समय प्रदेश बसेपछि सचिवमा बढुवा भएका थिए।
संघीय सरकारमा पनि सचिव पद खाली छ। शिक्षा मन्त्रालयमा प्रशासनतर्फका सचिवको दरबन्दी रिक्त भएको तीन महिना भइसकेको छ। त्यहाँ अझै पनि कसैलाई जिम्मेवारी दिइएको छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बेवसाइटमा उल्लेख भएअनुसार प्रधानमन्त्री कार्यालयमा पनि एक सचिवको दरबन्दी खाली छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।