कैलाली-कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मृत्यु भएका एक वृद्धिको शव जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै राखिएको पाइएको छ।
स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईंले खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो।
उक्त घरमा शक्तिनगर शिविरका अगुवा मोतीराम डगौराको शव रहेको पाइएको हो।
कोहलपुरमा मुटुको उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो । मृत्युपछि पाँच दिनअघि थप उपचार गर्न भन्दै पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षीय छोरा ईश्वर डगौराले बताए।
५ दिनसम्म पनि शव त्यत्तिकै रहेपछि गन्हाउन थालेको थियो। पाष्टर दीपकले टीकापुर नगरपालिका-४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए।
मंगलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको पाइएको थियो। प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।