काठमाडौं- राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियारको टोलीले घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। मंगलबार अख्तियारको बुटवल कार्यालयबाट गएको टोलीले उनलाई बुटवलबाट नियन्त्रणमा लिएको हो।
व्यवसायी अनिल कुमार झाबाट २ लाख घुस लिँदालिँदै अधिकृत रानालाई अख्तियारले नियन्त्रणमा लिएको हो। चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस/रिसवत लेनदेन गर्ने गरेको भन्ने उजुरी आयोगमा परेको बताइएको छ।
सोही उजुरीका आधारमा अख्तियारको टोलीले रानालाई दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ। उनलाई घुस दिने व्यवसायी झा पनि पक्राउ परेका छन्।
नियन्त्रणमा लिइएका रानामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।