काठमाडौं- सत्तारुढ नेकपाकाे भातृ संगठन अनेरास्ववियुले कोरोना महामारीका बेला बालबालिकाको स्वास्थ्यमा जोखिम निम्त्याउने कार्य नगर्न आग्रह गरेको छ।
मंगलबार अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गर्दै निजी विद्यालयले नाफा कमाउने बहानामा बालबालिकाको स्वास्थ्य जोखिममा नपार्न चेतावनी दिएका हुन्। काठमाडौंलगायत विभिन्न जिल्लाका स्थानीय तह र विद्यालय सञ्चालनसम्बन्धी संयन्त्रहरुले सरकारले जारी गरेका सूचनालाई गलत अर्थ लगाई भदौ एक गतेदेखि पठनपाठन सुरु गर्न भनिएको निर्देशनप्रति संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्यविद्ले १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन दिएको सुझावलाई वेवास्ता गर्दै निजी विद्यालय खोलेर नियमित पठनपाठन गर्ने कार्य अपराधसरह नै भएको विज्ञप्तिमा उल्लेख छ। सबै विद्यार्थीको निःशुल्क पिसिआर र कोरोना बिमा गर्न पनि अनेरास्ववियुले माग गरेको छ।
यस्तै पछिल्लो समय सरकारले विभिन्न निकायमा गरेको नियुक्तिका विषयमा जनस्तरबाट असन्तुष्टि हुनु सकरात्मक संकेत नभएकाे संगठनले जनाएको छ। संवैधानिक अंग र प्रक्रिया छलेर थोकमा हुने यस्ता नियुक्ति एक किसिमले नीतिगत भ्रष्टाचार नै भएकाे संगठनकाे भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।