एजेन्सी- फिलिपिन्सको राजधानी मनिलामा फेरि लकडाउन गर्ने घोषणा गरिएको छ।
राष्ट्रपतिले राजधानी मनिलादेखि अन्य प्रान्तहरुसँग आवतजावतलाई पनि बन्द गर्न लागिएको जानकारी दिएका छन्।
चिकित्सकहरुको टोलीले कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिनसक्ने चेतावनी दिएपछि उनले यस्तो निर्णय लिएका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता ह्यारी रोक्युले सोमबार दिएको जानकारीअनुसार महानगरको प्रहरी प्रशासनले मंगलबारदेखि दुई हप्ताका लागि लकडाउन गर्नेछ। आर्थिक गतिविधि बन्द गर्न र अत्यावश्यक बाहेकका अन्य सबै हिँडडुल तथा यात्रा गर्न पनि उनीहरुले प्रतिबन्ध लगाउने भएका छन्।
लकडाउनको समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विशेष केही उद्योगका कर्मचारीलगायतलाई पनि हिँड्न दिइने गृह मन्त्रालयका सचिव एडुर्डो एनोले जानकारी दिए। राष्ट्रपति रोड्रिगो डुटेर्टेले यसअघि यही जुन १ तारिखदेखि लकडाउन अन्त्य गरी आर्थिकलगायतका धेरै गतिविधिका लागि खुल्ला गरेका थिए।
उनले लकडाउन घोषणा गरेपनि बैंक, स्वास्थ्य तथा खाद्य सामग्रीसम्बन्धी कर्मचारी, कृषि उत्पादन कार्यमा संलग्न मजदुरलगायतलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म जान पाउने व्यवस्था गरिने बताए।
कमदारहरूले मोटरसाइकल, साइकल, नीजि कारमा आवातजावत गर्न पाउने तर सार्वजनिक यातायातका साधन भने प्रयोग गर्न नपाउने अधिकारीहरुले जनाएका छन्।
फिलिपिन्सका चिकित्सासम्बन्धी झण्डै एक सय संस्थाहरूले विद्युतीय माध्यममार्फत् गरेको बैठकमा अधिकांशले लकडाउनजस्ता प्रतिबन्धात्मक व्यवस्था तत्काल लागू गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।