काठमाडौं- कोरोना भाइरस संक्रमितकाे संख्या बढ्दै गएपछि आगामी मंगलबारसम्म बाँके जिल्लामा लकडाउन गरिएको छ। बाँके कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
अहिले नेपालगञ्ज उपमहानगरपालिकाको १, ३ र ८ वडासँगै नरैनापुर गाउँपालिकामा कोरोना संक्रमित धेरै देखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। यसअघि पनि त्यही क्षेत्रमा संक्रमित बढ्न थालेपछि लकडाउन गरिएको थियो। एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्दा कोरोना संक्रमण फैलन सक्ने भएकाले लकडाउन गरिएको प्रशासनले जनाएकाे छ।
जिल्लामा अहिलेसम्म ४ सय ३८ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। बाँकेमा निषेधाज्ञा जारी गरिएको छ। अत्याआवश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएकाे छ।
स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, औषधि, खाद्यन्न र तरकारी आयातका सेवा निर्वाध रुपमा सञ्चालन हुने बताइएकाे छ। एम्बुलेन्स, शव बहान, दमकल, कुटनीतिक नियोगका गाडी, लामा दूरीका मालवहाक गाडी पनि चल्न पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।