काठमाडौं-एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्दछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिने जनाइएकाे छ।
यस विशेष योजनाअन्तर्गत विद्यार्थीले मासिक रु २५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउँनेछन्। यसैगरी मासिक रु ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।
हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए । 'विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,' उनले भने, 'भर्चुअल कक्षाका लागि कनेक्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं ।'
यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो सेवा लिन सक्नेछन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिने उल्लेख गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।