डडेल्धुरा- डडेल्धुरामा हायस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। शनिबार बिहान ३ बजेतिर भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका १ घण्टेश्वर मन्दिर नजिक हायस दुर्घटनामा परेको हो।
भारतको केरेलाबाट आएका यात्रु लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१-००१- ख २३२३ नम्बरको हायस अनियन्त्रित भई सडकभन्दा अन्दाजी १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार हायसमा सवार १७ जना नै घाइते भएका छन्।
घाइते हुनेमा बझाङको तलकोट गाउँपालिका २ का २३ वर्षीया शुसिला धामी, सोही ठाउँकी ६० वर्षीया हिमकला रोकाया, २६ वर्षीय भक्त रोकाया, वर्ष १८ का दिपेन्द्र कुँवर, वर्ष १८ कै अशोक कुँवर, वर्ष ३५ का मीनबहादुर कुँवर रहेका छन्। यस्तै सोही ठाउँका ४६ वर्षीय गोरख कुँवर, वर्ष ४२ का गंग कुँवर, २४ वर्षीय अमृत धमेना, वर्ष २६ का वीरेन्द्र धामी, वर्ष १८ का रोशन कुँवर, वर्ष २३ का देव कुँवर घाइते भएका छन्।
यसैगरी घाइते हुनेमा वर्ष १८ का जोवन धमेना, ७ वर्षीय बालक पवन धामी, वर्ष ६ का अनुप रोकाया रहेका छन्। कैलाली गोदावरी नगरपालिका ६ का २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी धनी ३० वर्षीय हिमाल माझी घाइते पनि भएका छन्।
चालक फुलारा र गाडी धनी माझीलाई उपचारको लागि धनगढी पठाएको डीएसपी न्यौपानेले जानकारी दिए। १० घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।