काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा)का अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको उल्लेख गरेकी छन्। उनले यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिनुएकाे बताएकी छन्।
'नेपाल विविध जातजाति, भाषा र संस्कृतिको सङ्गम हो। विभिन्न समुदायद्वारा मनाइने यस्ता पर्वले आम नागरिकलाई सामाजिक सांस्कृतिकरूपमा एकताबद्ध बनाउँदै भावनात्मक ढङ्गले राष्ट्रिय एकता सुदृढ गर्नसमेत मद्दत पुर्याउने अपेक्षा लिएको छु', शुभकामना सन्देशमा उल्लेख छ। कोभिड–१९ महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेको यस कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाउने आशा गर्दै राष्ट्रपति भण्डारीले बकर इद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्यमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् भनी कामना गरेकी छन्।
बकर–इदले नेपालीबीच सद्भाव, सहिष्णुता, मेलमिलाप : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा)ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
इस्लाम धर्मावलम्बीको पर्व बकर–इद (इदुल जोहा)का अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। सन्देशमा प्रधानमन्त्री ओलीले सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आआफ्नो ठाउँबाट सक्रिय रहन आह्वान गरेका छन्।
'यसै दिनदेखि हिजारी संवत्को नयाँ वर्षको शुरूआत हुने गर्दछ। गरिब तथा असहायलाई दान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ', उनले सन्देशमा भनेका छन्, 'धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवर्द्धन गर्दै आएका छन्।'
नेपालमा धार्मिक, सांस्कृतिक र भाषिकलगायतका विविधतालाई संवैधानिकरुपमा सम्मान र संरक्षण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, 'विविधताबीचको एकता हाम्रो मौलिक पुँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउनु पर्नेछ।' बकर–इदलाई करिब चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झनास्वरूप मनाइने पर्वका रुपमा लिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।