नेपालगन्ज– भारत नयाँ दिल्लीको जिबी रोडस्थित २ वटा कोठीबाट ३ नेपाली बालिकाको उद्धार गरिएको छ।
माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो।
नेपालबाट माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाको नेतृत्वको टोलीले दिल्ली प्रहरीको सहयोगमा कोठीमा गत वैशाख ४ गते छापा मारेको थियो। ती कोठीमा करिब ६०÷७० नेपाली बालिका र किशोरी रहेको सूचनाका आधारमा छापा मारिएको थियो।
‘छापा मारिँदैछ भन्ने सूचना पाएपछि कोठीका सञ्चालकले अन्य बालिकालाई लुकाएको पाइयो’, संयोजक कोइरालाले भने।
उद्धार गरिएका बालिकालाई अहिले नयाँ दिल्लीस्थित नारी निकेतनमा राखिएको छ। आवश्यक कानूनी प्रक्रिया सकिएपछि कोठीबाट उद्धार गरिएका बालिकालाई नेपाल ल्याइने उनले बताए।
गएराति नेपालगन्ज फर्केको कोइराला नेतृत्वको टोलीले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी गराएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।