बागलुङ- बागलुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौं घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ।
अविरल वर्षापछि साउन १० गते गएको पहिराले बागलुङ नगरपालिका–१ रामरेखाको निरयघाटमा एक जनाको मृत्यु भएको र अर्का एक जना बेपत्ता रहेका छन्। बेपत्ताको प्रहरीले खोजी कार्य गरे पनि हालसम्म फेला नपारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए। यस्तै १३ गते जिल्लाको तमान खोला गाउँपालिका–२ मा घर पहिरोका कारण भत्किँदा दुई बालबालिकाको मृत्यु भएको छ। सोही दिन नै निसी खोला गाउँपालिका–१ मा पाँच वर्षीय बालकको समेत मृत्यु भएको थियो।
अविरल वर्षाका कारण पछिल्लो समय बागलुङमा विपद्का घटना बढ्दै गएका छन्। बाढीपहिरोका कारण बागलुङमा अधिकांश सडक अवरुद्ध भएका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बागलुङ जिल्लामा हालसम्म ५४ घर भत्केका छन्। जोखिमयुक्त बस्ती पहिचानको कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए। ‘स्थानीय तहमार्फत् जोखिममा परेका घरको विवरण मगिएका छौं’ पन्तले भने, ‘असारपछि राहतको नियम अद्यावधिक भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।